फर्पु दुर्घटनामा ज्यान गुमाएका वडा अध्यक्ष बस्नेतसहित ५ जनाको परिवारलाई बिमा कम्पनीले दियो ५–५ लाख

| फागुन २, २०८१ शुक्रबार

A A A
A A A

२ फागुन, रामेछाप । गएको मंसिर १४ गते रामेछापको फर्पुमा भएको फोब्स गाडी दुर्घटनामा परी ज्यान गुमाएका ५ जनाको परिवारलाई इन्सोरोन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक पाँच जनाको परिवारलाई बिहीबार चेक हस्तान्तरण गरिएको हो । मृतकका आफन्ताले चेक बुझि लिएका छन् ।

 

जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहसहितको उपस्थितिमा सगरमाथा लुम्बिनी इन्सोरेन्स कम्पनी जिल्ला शाखाले केन्द्रका मार्केटिङ विभागको (डिजिए) कविराज पौडेल र केल्म डिपार्टहेड् सुवास दीक्षितसहितको उपस्थितिमा मृतक बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको परिवारलाई ५–५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको इन्सोरेन्स कम्पनी जिल्ला शाखा रामेछापका प्रमुख हेमन्त पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘मृतकका आफन्तलाई कम्पनीको तर्फबाट विशेष प्राथमिकता दिएर चेक प्रदान गरेका हौँ’ पौडेलले भने । 

 

काठमाडौँबाट बेतालीको लागि आउँदै गरेको फोब्स गाडी फर्पुको सिमखोलाबाट पल्टिएको थियो । सो दुर्घटनामा बेतालीका वडा अध्यक्ष बस्नेत लगायत ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सोही मृतकका परिवारलाई करिब साँढे २ महिना भित्रै इन्सोरेन्सले भुक्तानी गरेको हो । 

 

इन्सोरेन्स जिल्ला शाखाका प्रमुख पौडेलका अनुसार कम्पनीले घाइतेहरूलाई पनि चाँडो भन्दा चाँडो बढीमा ३ लाख सम्म र कम्तीमा उपचार खर्चबापत लागेको बिल अनुसारको रकम भुक्तानी गर्ने तयार रहेको छ । ‘घाइतेहरू पनि सम्पर्कमा आएर चाँडै भुक्तानी दिन तयार छौँ ।’

 

जिल्ला शाखाले मृतकहरूको पीडामा मलम लगाउने उद्देश्यले निकै चासो दिएर चाँडै मृत्युबापतको रकम भुक्तानी गरेको कम्पनीले दाबी गरेको छ ।