बिटार पार्कलाई व्यवस्थित र व्यावसायिक रूपमा संचालनमा ल्याउने तयारी, जुनारको ‘प्रतिमा’ देखि यस्ता संरचना थपिने

| फागुन ११, २०८१ आइतबार

A A A
A A A

११ फागुन, रामेछाप । कोरोना महामारीले सिर्जना गरेको विषम परिस्थिति ‘लकडाउनको समयको’ सदुपयोग गर्दै रामेछापका सहयोगी मन (रासम) नामक स्वघोषित युवाहरूको समूहले परिकल्पन एवं सुरुवात गरेको विटार पार्कलाई थप व्यवस्थित गर्न रामेछाप नगरपालिकाले चासो देखाएको छ । त्यसको लागि आवश्यक कार्यहरू अगाडि बढाउन नगरपालिका लागि परेको नगरपालिकाले जनाएको हो । बर्खा लाग्न साथ झोर र झाडी उम्रेर हैरान पारेपछि त्यसलाई पूर्ण रूपमा रोक्नको लागि पहल भइरहेको बुझिएको छ । 

 

चालु आर्थिक वर्ष भित्रै १० लाख बजेट विनियोजन गरेको रामेछाप नगरपालिकाले वडा नं ८ स्थित विटार पार्कलाई आन्तरिक पर्यटकहरूको रोजाइमा पार्ने गरी अत्यावश्यक पूर्वाधार निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको पार्क निर्माण समितिका अध्यक्ष एवं स्थानीय सुनिल रायमाझीले बताए । ‘यो वर्ष अहिले बनेका संचरणाहरुलाई थप व्यवस्थित गर्दै पार्कलाई आकर्षक र व्यवस्थित गर्ने काममा लागेका हौँ ।’

 

विशेष गरी मन्थलीमा हुने अत्याधिक गर्मीलाई भुलाउने ठाउँको रूपमा चिनाउने गरी तत्कालै पार्कमा नगरपालिकाको पहिचान बनाएको जुनारको स्तम्भ बनाउने देखि बालबालिका खेल्ने ‘बालउद्धान’ लाई व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको स्थानीय अगुवा बद्री नयाँघरेले बताए । पार्कलाई मन्थली र रामेछापमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पार्न नगरपालिकाले चासो दिएकाले क्यान्टिन संचालन, टिकट्को व्यवस्था, सरसफाइ गर्ने देखि २४ सै घण्टा ‘हेरालु’ राखेर पार्कलाई व्यवस्थित र व्यावसायिक रूपमा संचालन गर्न लागेको नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष समेत रहेका स्थानीय अगुवा नयाँघरेले बताए । 

केही समय आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न सफल भए पनि पार्कमा खानेपानी, क्यान्टिन लगाएका विविध समस्याले सोचे अनुसारको कार्य नभएको स्वीकार गर्दै नगरपालिकाकी उपप्रमुख बाल कुमारी थापा (कार्की) ले भनिन् ‘यसलाई राम्रोसँग संचालन गर्न ध्यान नपुगेकै हो’, विनियोजित बजेटबाट पार्कमा जुनारको प्रतिमा निर्माण गर्ने देखि निर्माण गरिएका पार्कको संरचनालाई थप आकर्षक बनाउँदै ‘अब व्यवस्थित र व्यावसायिक रूपमा संचालन गर्छौँ ।’

 

अब चाँडै, आकर्षक ‘लाइट’ जडान, पानीको फोहोरा, उमेर अनुसार खेल्न मिल्ने पिङ, नगरलाई चिनाउने जुनारको स्तम्भसहित सफा पैदल पेटी बनाइने उपप्रमुख कार्कीले जानकारी दिइन् । ‘बजेटले पुगे सम्म संरचनाहरू थप्दै लान्छौँ ।’

शनिवार मात्रै उपप्रमुख कार्कीसहितको उपस्थितिमा पार्कमै समितिले पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन के गर्ने भन्ने विषयमा छलफल गरी कार्यको थालनी गरेको हो । 

 

मन्थलीका युवाहरूले पार्कमा लक्ष्मी प्रसाद देवकोटाको अर्धकद्को शालिक, ‘मिनीधरहारा’, ‘मिनीभन्यू टावर’, नेपालको नक्सा, पिङ लगायतका संरचना निर्माण गरेका छन् । भने, ढुङ्गालाई कुँदेर हात्ती, मान्छेको अनुहार, खुकुरी लगाएको प्रतिमा राखेका छन् । 

 

कृषिमा गेडागुडी जातको उत्पादन र पर्यटन प्रवर्द्धनबाट मात्रै नगरमा समृद्धि आउने धारणा राख्दै आएका नगर प्रमुख लवश्री न्यौपानेले पनि पार्कलाई छिटो भन्दा छिटो व्यवस्थित गर्न जोड् दिएका छन् । समितिलाई समेत चाँडै पार्कलाई व्यवस्थित तरिकाले संचालन गर्न आग्रह गरेको बताउँदै बिटार पार्क संचालनमा ल्याएर पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन मेयर न्यौपानेले आग्रह गरे ।