रामेछाप दोरम्बाको छहरेछाप वनमा आगो लगाउने दुई दाजुभाइ पक्राउ
अन्य आरोपीहरू पनि निगरानीमा
४ चैत, रामेछाप । चैत महिना लागे देखि आगोलागि एवं डढेलोको घटना तीव्र गतिमा फैलिएको रामेछापमा दुई जना दाजुभाइ पक्राउ परेका छन् । उनीहरूलाई रामेछापको दोरम्बा शैलुङ गाउँपालिका छहरेछाप डाँडा सामुदायिक वनमा भीषण आगो लगाएर फरार भएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
गएको शुक्रवार पालिकाको वडा नं ३ को लालिगुँरास सामुदायिक वनमा सोही ठाउँका ५० वर्षीय पदमबहादुर वि.क र उनैका भाइ ४५ वर्षीय चन्द्रबहादुर वि.क ले आगो लगाई फरार भएको खुलाशा भएको थियो ।
तीन दिन सम्म निरन्तर फैलिएर नियन्त्रण बाहिर जाने गरी डढेलो लगाउने उनीहरूलाई प्रहरीले विशेष ‘सूक्ष्म’ अनुसन्धानसहित खोजतलास गरेको थियो ।
खोजतलास गर्ने क्रममा शनिवारै उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रवक्ता कौशल न्यौपानेले बताए । पक्राउ परेका दाजुभाइलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा पठाइएको र सो कार्यालयबाट थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ ।
सुख्खा र खडेरीको महिना चैत लागेसँगै जिल्लाको दोरम्बा शैलुङसहित गोकुलगंगा गाउँपालिकाको बेताली, मन्थली नगरपालिकाको गैराथोक र उमाकुण्ड गाउँपालिकाको बाम्तिभण्डारमा समेत भिरालो पाखो भीरमा डढेलो एवं आगोलागि भएको छ ।
यसरी आगो लगाउनेहरू माथि सूक्ष्म निगरानीसहित ठाउँको ठाउँ पक्राउ गर्ने गरी काम थालेको जिप्रका रामेछापले टोली नै परिचालन गरेर डढेलो लगाउनेहरूलाई कानुन अनुसार कारबाही गरेरै छाड्ने गरी अगाडि बढेको बुझिएको छ ।