चट्याङसहित मन्थलीमा भीषण वर्षा : विमानस्थलमा पस्यो भलबाढी, कर्मचारी जुटेर गरे तत्काल सफा

| बैशाख २, २०८२ मंगलबार

A A A
A A A

२ चैत, रामेछाप । मन्थली स्थित रामेछाप विमानस्थलमा भलबाढी पसेपछि कर्मचारीहरूले क्षतिबाट जोगाएका छन् । साथै, भोलि बुधवार उडान नरोक्नको लागि सक्दो प्रयास गरेको विमानस्थलका कर्मचारीले बताएका छन् । 

 

मंगलबार अपरान्ह्व देखि परेको चट्याङसहितको भीषण वर्षाको कारण मन्थली–खिम्ती  सडकसहित मन्थली बसपार्क नजिकै माथिल्लो पाखोबाट लेदोसहितको भलबाढी एयरपोर्टमा पसेपछि विमानस्थलका निमित्त प्रमुख प्रज्ज्वल गुरागाईँले रामेछाप टाइम्सलाई बताए । ‘एक्कासि लेदोसहितको भल विमानस्थलको गेट, टुरिस्ट हिँड्ने सडकसहित रनवयमा छिर्यो । हामीले मन्थली नगरपालिकाको दमकल र विमानस्थलकै फाएर फाइटर प्रयोग गरेर सफा गर्‍यौँ’ निमित्त कार्यालय प्रमुख गुरागाईँले भने ‘अहिले सफा गरिसक्यौँ ।’

 

आफूहरूले करिब एक घण्टा भित्र विमानस्थल तयारी अवस्थामा फर्काएको सुनाउँदै गुरागाईँले भने ‘भोलि उडान नरोकियोस् भनेर हामीले सक्दो प्रयास गरेका हौँ ।’

 

मंगलबार ६० वटा उडान मार्फत १५ सय बढी पर्यटकहरू सोलुखुम्बुको लुक्ला पुगेको जानकारी दिँदै निमित्त प्रमुख गुरागाईँले मन्थलीमा ५ सयको हाराहारीमा पर्यटक रहेको जानकारी दिए । ‘आज भोलि लुक्ला जाने मुख्य समय’ रहेको सुनाउँदै दैनिक ५० भन्दा बढी उडानहरू भइरहेका जानकारी दिए । 

 

 

केही दिन यता वर्षा भइरहेकाले बिपी राजमार्गसहितका मुख्य सडकहरूमा समेत समस्या देखिएकाले पर्यटकहरू यात्रा गर्दा सजक भएर गर्न समेत उनले आग्रह गरे । मौसममा देखिएको समस्याको कारण उडानमा असर परेको जानकारी दिँदै आजको भलबाडीले भोलिको उडानमा समस्या नहुने प्रस्ट पारे । 

 

लुक्लाको मौसममा खराबी हुँदै समस्या देखिने गरेको उडान केही दिन यता मन्थलीमा पनि वर्षा हुँदा उडान रोकिन पुगेको छ । 

 

मंगलबार धेरै ठाउँमा असिना, चट्याङ र हावाहुरीसहित भीषण वर्षा भएको हो ।