माकादुमका वडा अध्यक्ष कार्कीले गरे बुद्ध भवानी माविमा २ लाखको अक्षयकोष खडा गर्ने घोषणा

| भदौ २९, २०८० शुक्रबार

A A A
A A A

२९ भदौ, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुमका वडा अध्यक्ष नारायण कार्कीले दुई लाख रुपैयाँको अक्षयकोष खडा गर्ने घोषणा गरेका छन् । 

 

वडा अध्यक्ष कार्कीले स्वर्गीय पिता दिलबहादुर कार्कीको स्मरणमा पालिका स्थित बुद्ध भवानी माविमा रु २ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । ‘यो विद्यालयको पठनपाठन र कोही पनि बालबालिका यी कुराबाट वञ्चित नहुन् भन्ने उद्देश्यले यो अक्षय कोष स्थापना गर्ने निर्णय गरेको हुँ ।’

 

वडामै निजी विद्यालय खोलेर आवास सहित पठनपाठनमा उल्लेख योगदान दिँदै आएको ‘जेएन बोर्डिङ स्कुल’ आफै सञ्चालन गर्दै आएका वडा अध्यक्ष कार्कीले अर्को विद्यालयमा समेत अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । 

 

विपन्न र जेहनदार विद्यार्थीलाई कोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रूपमा छात्रवृत्ति वितरण उनको भनाई छ । ‘यसको लागि तत्काल प्रक्रिया पूरा गरेर कोष सञ्चालनमा आउँछ । त्यसबाट विपन्न र जेहनदार विद्यार्थीको पढाइमा हौसला दिलाउन छात्रवृत्ति प्रदान गर्ने छौँ ।’ 

 

समाजसेवी र सहयोगी भावकै कारणले नेपाली काँग्रेसबाट सो पालिकामा एक मात्रै वडा अध्यक्ष जितेका कार्की जनतामा निकै लोकप्रिय छन् ।