मन्थली–२ः स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन ‘गाउँ घर क्लिनिक’ अभियान, सबै ठाउँमा ‘नेट’ सुविधा

| मंसिर २०, २०८० बुधबार

A A A
A A A

२० मंसिर, रामेछाप । मन्थली नगरपालिका वडा नं २ टेकानपुरले वडामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै स्वास्थ्य स्वयंसेविकाहरूले समेत स्वास्थ्य नागरिक बनाउन भूमिका खेलेको भन्दै उनीहरूलाई सम्मान गर्दै थप प्रोत्साहित गरिएको वडाले जनाएको छ । 

 

मंगलबार वडामा रहेको स्वास्थ्य कार्यालय कठजोरमा व्यवस्थापन समितिको बैठक बसेर पिप्लेमा स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने र स्वास्थ्य सम्बन्धी गतिविधि बढाउने उद्देश्यले निर्णय गरिएको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले रामेछाप टाइम्सलाई बताए । ‘अहिले भएको भन्दा थप चलायमान बनाउने हाम्रो उद्देश्य हो’, उनले थपे ‘यसमा नगर स्वास्थ्य शाखासँग पनि समन्वय गर्दै वडावासीको प्रत्यक्ष लाभमा जोड्न खोजेका हौँ’ ।

त्यसको लागि भोलि बिहीबारदेखि नै बासीहरूमा पुग्ने गरी ‘एक गाउँ घर क्लिनिक’ अभियान सुरु हुन लागेको अध्यक्ष कार्कीले जानकारी दिए । 

 

नगरको स्वास्थ्य शाखाले थप व्यवस्थापन गर्ने गरी वडाले चासो लिन सकारात्मक रहेको भन्दै वडा बासीसँग प्रत्यक्ष जोडिएर उनीहरूलाई स्वस्थ राख्ने योजना अनुसार काम अगाडि बढाइएको नगरका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताए । ‘नगरले स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएकै छौँ, यसलाई अझ वडाले अभियानको रूपमा काम गरी चासो लिनु सकारात्मक हो । त्यो मिलेर काम गर्छौँ ।’

 

मंगलबार २० औँ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा वडाले त्यहाँ कार्यरत उत्कृष्ट कार्य गर्ने स्वयंसेविकालाई वडा अध्यक्ष कार्की र नगर स्वास्थ्य प्रमुख फुयाँलले संयुक्त रूपमा सम्मान तथा पुरस्कृत गरेका छन् । 

 

दिवसकै अवसरमा स्वयंसेविकालाई सेवामा सहजता पुर्‍याउने उद्देश्यले स्ट्रेचर पनि प्रदान गरिएको वडाले जनाएको हो। 

 

वडा पूर्ण रूपमा नेटको पहुँचमा 

यसैबिच मन्थली नगरपालिका वडा नं २ ले वडालाई पूर्ण रूपमा इन्टरनेटको पहुँचमा पुगेको जनाएको छ । वडा कार्यालय सहित त्यहाँ भित्रका पाँच वटा विद्यालय, दुई स्वास्थ्य कार्यालय र एक अध्ययन केन्द्रमा पूर्ण रूपमा इन्टरनेटको पंहुचमा पुगेको वडा अध्यक्ष कार्कीले जानकारी गराए ।

 

अध्यक्ष कार्कीले भने ‘वडाका सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान सम्पन्न गर्‍यौँ, अब सिसिटिभी जडान गरेर वडालाई पूर्ण प्रविधिको घेरा भित्र राख्ने लक्ष्य हाम्रो हो ।’