रामेछाप टारगाउँका आगोलागि पीडितलाई तरुण दल रामेछापले दियो पानी ट्याङ्की

| चैत ३०, २०८० शुक्रबार

A A A
A A A

३० चैत, रामेछाप । तरुण दल रामेछापले रामेछापको टारगाउँ आगोलागि पीडितलाई पानी ट्याङ्की प्रदान गरेको छ । गत चैत १ गते भएको आगोलागिमा परेका १३ घर परिवारलाई तरुण दल रामेछापले बिहीबार पीडितहरू माझ पुगेर ट्याङ्की हस्तान्तरण गरेको हो । 

 

नगरपालिका प्रमुख लवश्री न्यौपाने, नगरका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष समीर कार्कीसहितको उपस्थितिमा तरुण दल जिल्ला अध्यक्ष एवं गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), उपाध्यक्ष वासु फुयाँल लगायतका नेताहरूले पीडित १३ घरलाई १–१ वटा पानीको संचितका लागि सहयोग पुगोस् भनेर ट्याङ्की हस्तान्तरण गरेको उपाध्यक्ष फुयाँलले जानकारी दिए ।

 

‘तरुण दलका साथिहरुसंगको सहयोगमा १–१ वटा पानीको ट्याङ्की प्रदान गरेका हौँ’, पानीको निकै समस्या रहेको उक्त स्थानको बारेमा थप प्रस्ट्याउँदै उपाध्यक्ष फुयाँलले भने ‘ट्याङ्की भएमा जम्मा गरेर पनि प्रयोग गर्न सकुन् भनेर हामीले सानो प्रयास गरेका हौँ ।’ 

 

नगरपालिका सहित विभिन्न सहयोगी हातहरूबाट सहयोग आउने क्रम जारी रहेको पीडितहरूलाई पाँच सय लिटरको ट्याङ्की पाएपछि खुसी देखिएका थिए । 

 

सोही अवसरमा बोल्दै नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टी सभापति एवं नगरपालिका प्रमुख न्यौपानेले अग्नि पीडितका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोगलाई सिधै पीडितहरूको आवश्यकताको आधारमा वितरण गर्दै आएको जानकारी गराए ।