महासंघको पत्रकार शुद्धीकरण प्रकरण : प्रेस युनियन रामेछापले लगायो महासंघको कार्यालयमा ताला

| जेठ १५, २०८१ मंगलबार

A A A
A A A

१५ जेठ, रामेछाप । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले पत्रकार महासंघ रामेछापको भवनमा ताला बन्दी गरेको छ । आफ्नो माग पूरा नुहुँदा सम्म ताला नखोल्ने युनियनले अडान व्यक्त गरेको छ । पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीलाई आफ्ना मागसहित पत्र बुझाउँदै केन्द्रिय सदस्य रीता मगर (घिमिरे), प्रदेश सदस्य कल्याण बुढाथोकीको उपस्थितिमा युनियन शाखाले ताला लगाएको हो । 

 

महासंघको केन्द्रीय कार्यसमितिले सार्वजनिक गर्न लागेको ‘पत्रकार शुद्धीकरण’ कार्यक्रम अन्तर्गत जिल्ला शाखाबाट पठाएको नामावली बाहेकका सदस्यहरूको समेत नाम राखिएको, जिल्लामा हुँदै नभएको पत्रकारको नाम भएको पाइएको, क्रियाशिल पत्रकारको नाम काटिएको, सांगाठानिक पूर्वाग्रहबाट सदस्यको नाम राखिएको लगायतका माग राखेर नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था युनियनले मंगलबार मन्थली स्थित शाखा कार्यालयको ‘मेन गेट’मा ताला बन्दी गरेको हो । 

 

जिल्ला शाखाको गेटमा झण्डै एक वर्ष अगाडि देखि नै नेकपा (एमाले) निकट प्रेस संगठन प्रेस चौतारी नेपालले शुद्धीकरण कार्यक्रम गर्न केन्द्रले गरेको निर्णय ‘अक्षरशः’ पालना गर्नु पर्ने भन्दै ताला बन्दी गरेको थियो । सोही ताला लगाएको गेटमा युनियनले ताला थपेको हो । 

 

यही जेठको २६ गते सम्म सबै जिल्ला र प्रदेश अधिवेशन सकेर केन्द्रीय अधिवेशन गर्ने मिति तोकेको महासंघको केन्द्रीय समितिले जिल्ला शाखासँग समन्वय र सहकार्य बिनै सदस्य टुङ्ग्याउने निर्णय गरेपछि अधिकांश जिल्लाले असन्तुष्टि जनाएका छन् । 

साथै महासंघ निकट प्रेस युनियनसहित चौतारी नेपाल, प्रेस संगठन र समाजवादी प्रेस संगठन लगायतले असन्तुष्टि जनाउँदै आएका छन् । सोही अनुसार युनियनको जिल्ला शाखा रामेछापले अध्यक्ष ज्ञानु श्रेष्ठसहित युनियनका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा महासंघको जिल्ला शाखामा ताला बन्दी गर्दै औपचारिक रूपमा सार्वजनिक हुन बाँकी रहेको सदस्यता नामावलीको विरोध जनाउँदै सच्याउन अल्टिमेटम दिएको हो । 

 

उसले यो नामावलीमा महासंघको निर्वाचन हुन नसक्ने चेतावनी दिँदै तत्काल क्रियाशील पत्रकारहरूलाई संरक्षण गर्ने, भागबन्डा र संगठन हेर्ने भन्दा पनि क्रियाशील पत्रकारहरू अनिवार्य अटाउनु पर्ने, राजनीतिक पूर्वाग्रह देखिन नहुने अडान राखेको युनियन जिल्ला शाखाकी अध्यक्ष श्रेष्ठले बताइन् । आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने युनियन जिल्ला शाखाले चेतावनी दिएको छ । 

 

ताला बन्दी गर्दै सचिव सागर बोहोराले निर्णय सच्चिएर नआउँदा सम्म कुनै पनि गतिविधि नगर्न जिल्ला शाखालाई आग्रह गरे । अध्यक्ष ज्ञानु श्रेष्ठले पनि सांगाठानिक पूर्वाग्रहबाट प्रेरित भएर नामावली आएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गरिन् । 

युनियनले ताला बन्दीसहित बुझाएको पत्र बुझ्दै महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले युनियनको माग जायज भएको बताए । उनले युनियनले स्वभाविक मुद्दा अगाडि सारेकाले उक्त विषय आजै केन्द्रमा जानकारी गराउने र सम्बोधनको लागि पहल गर्ने प्रतिबद्धता जनाए । 

 

गत शनिवार प्रेस युनियन केन्द्रीय समितिले महासंघका केन्द्रीय अध्यक्ष र महासचिवको कार्यालयमा सोही विषयमा असन्तुष्टि जनाउँदै ताला बन्दी गरेका छन् । यो सदस्यतामा महासंघको निर्वाचन गर्न नसकिने भन्दै केन्द्रले गरेको उक्त निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।