मन्थलीका आधा भन्दा बढी जनसंख्या स्वास्थ्य बिमामा आबद्ध, रोग पालेर बस्नेहरू घटे

| जेठ २९, २०८१ मंगलबार

A A A
A A A

२९ जेठ, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका भित्रका झण्डै आधा भन्दा बढी जनसंख्या स्वास्थ्य बिमाको पहुँचमा जोडिएका छन् । 

 

२०७८ सालको जनगणना अनुसार २१ हजार २१५ महिला र १८ हजार ४८० जना पुरुषसहित ३९ हजार ६ सय ९५ जनसंख्या रहेको यो नगरभित्रका ७ हजार २ सय ७ घर परिवारका २१ हजार ६ सय ८३ जनाले बिमा गरेको नगरको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले रामेछाप टाइम्सलाई बताए । ‘हाम्रोमा आधा भन्दा बढी जनसंख्या स्वास्थ्य बिमाको पहुँचमा जोडिनु भएको छ । यसले गर्दा स्वास्थ्य सेवाको लागि निकै लाभ भएको छ ।’

 

फुयाँलका अनुसार स्वास्थ्य बिमाले पैसा नभएर उपचार गर्न नआउनेहरू समेत अस्पतालमा आउन थालेपछि सामान्य प्रकृतिका सरुवा रोगहरू निर्मूल हुँदै गएको हो । ‘पहिले पैसा छैन भनेर घरमै बस्दा रोग बढ्थ्यो अहिले उपचार गर्छन् । त्यसैले झाडा पखाला, भाइरल ज्वरो जस्तै रोगहरू क्रमशः न्यूनीकरण हुँदै गएको छ ।’

 

स्वास्थ्य बिमा अन्तर्गत ५ जना सम्मको परिवारलाई ३५ सयको बिमा गरेपछि एक लाख बराबरको औषधि तथा उपचार सेवा पाउँदै आएका छन् । मन्थली अस्पतालबाट बिमा मार्फत सजिलै उपचार हुने भएकाले पनि थप स्वास्थ्य सेवामा थप सहज भएको स्वास्थ्य प्रमुख फुयाँलले बताए । 

 

तर, खानपानमा ध्यान नपुराउँदा, विषादी युक्त खाना, उपयुक्त परिश्रम नगर्दा, अल्छीपन बढ्दा, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने क्यान्सर, मुटु रोग, मानसिक समस्या जस्ता गम्भीर प्रकृतिका रोग भने विस्तारै बढिरहेको उनको भनाई छ । 

 

बसै नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवाको क्षेत्रमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ ।

 

यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँत्र (Universal Health Coverage, UHC) प्राप्ति तर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।