लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनले दोरम्बा शैलुङ गाउँपालिकासहित रामेछापमा १५ लाख बढीको राहत सामाग्री प्रदान गर्यो (भिडिओसहित)

| असोज ८, २०८१ मंगलबार

A A A
A A A

८ असोज, रामेछाप । विपद्मा परेकाहरूलाई सहायता प्रदान गर्दै आएको लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनले रामेछापमा १५ लाख बढीको राहत सामाग्री प्रदान गरेको छ । यो वर्ष हालसम्मको बाढी, पहिरो सहितका विपद्ले पारेको विपत्तिमा परेका जिल्लाभरका प्रभावितहरूलाई ठुलो परिमाणमा राहत सामाग्री उपलब्ध गराएर पीडितहरूलाई सहयोग गरेको हो । 

 

सोमबार लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनका डिस्ट्रिक्ट गभर्नर शंकर सादारसहितको उपस्थितिमा गएको भदौ ८ गते राति दोरम्बा शैलुङ गाउँपालिका वडा नं १, ३ र ५ का १४१ घर पहिरो प्रभावित घरपरिवारलाई दोरम्बा शैलुङ् गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थापा मगर, रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठसहितको उपस्थितिमा राहत सामाग्री हस्तान्तरण गरेको रामेछाप घर भएका लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसन शम्भु घिमिरेले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय सहयोगी संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनले रामेछाप उद्योग वाणिज्य संघ रामेछापको विशेष पहलमा खाद्यान्नका सामाग्री चामल, तेल, दाल, सहित ओढ्ने व्याल्ंकेट्, बाल्टी, जग, थाल, कचौरा, ३ लिटरको प्रेसर कुकर सहितका सामाग्री दोरम्बा गाउँपालिका भरीका १४१ प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो ।

 

आफूहरूले पहिरोले १० जनाको ज्यान जाने गरी भएको दुःखद घटना बारे थाहा पाए लगत्तै राहत सामाग्री लिएर यहाँ आउने तयारी थालिएको बताउँदै अधिवक्ता समेत रहेका लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनकर्मी गणेश केसीले राम्रो तयारी गर्दा समय लागेको बताए । ‘ढिलै भए पनि हामी यहाँ आइपुगेका छौँ । यहाँको वास्तविक अवस्था निकै दयनीय रहेछ । आगामी दिनमा पनि हामीले सकेको सहयोग गर्छौँ’, केसीले प्रष्ट पार्दै भने । 

उनले विपद्को घटना सुने लगत्तै आफूहरूले जिल्लावासी समेत रहेका शम्भु घिमिरेको पहलमा सामाग्री व्यवस्थापन गरेर उक्त सहयोग लिएर आएको जानकारी गराए ।  जिल्लामा यो बर्खे भेलले दोरम्बा शैलुङ् गाउँपालिका, मन्थली नगरपालिका १३ फुलवासीको मिल्ती बजार, गोकुलगंगा गाउँपालिकाको फर्पु र लिखु तामाकोशी गाउँपालिकाको धोबीमा ठुलो धन जनको क्षति गरेको छ । दोरम्बामा गएको बाढी पहिरोले अधेरी खोलामाथिको सडक पुल बगाउनुका साथै दुई दशक भन्दा बढी देखि चलाउँदै आएको पानी घट्टा, डडुवाको पात्ले र पोखरी तर्फ जोड्ने झोलुङ्गे पुल पूर्ण बगाएको छ । 

 

त्यस्तै १ नम्बर वडाको विभिन्न ठाउँमा गएको पहिरोले त्यहाँ विपन्न एव पिछडिएका जाति थामी बस्ती पूर्ण रूपमा जोखिममा परेको छ । ७ जनाको लेखर्क पहिरोमा घरसंगै फुरिएर ज्यान गएको पुष्टि भइसक्यो भने ३ जना सोही पहिरोमा अझै बेपत्ता छन् । 

जिल्लाको दुर्गम र भौगोलिक रूपमा विकट यो पालिकामा भदौमा एक्कासि गएको विपत्तिले गर्दा ३३ घर पूर्ण रूपमा विस्थापित हुन पुगेको पालिका अध्यक्ष मैन कुमार मोक्तानले बताए । हराएकाहरूको खोजी कार्य भए पनि नभेटिएपछि रोकिएको जानकारी गराउँदै अध्यक्ष मोक्तानले लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनले घटना घटे लगत्तै पनि जस्तापाता पठाएको र अहिले पनि ठुलो मात्रामा राहत सामाग्री उपलब्ध गराएर निकै ठुलो सहयोग गरेको धारणा राखे । 

 

पालिकाले अहिले ३३ परिवारलाई सामूहिक रूपमा राखिरहेको सुनाउँदै पालिका अध्यक्ष मोक्तानले मुख्य चाड पर्वलाई लक्षित गरेर शनिवार देखि सामूहिक रूपमा बस्न मिल्ने अस्थायी टहरो निर्माण भइरहेको बताए । पालिकाको केन्द्र नजिकै उनीहरूको लागि बस्न र चाड पर्वमा बस्न मिल्ने गरी टहरो बनाइरहेको सुनाउँदै दीर्घकालीन व्यवस्थापनको लागि पालिका तयार रहेको धारणा राखे । ‘अहिले हामीले सामूहिक मेस चलाएका छौँ । यही खाना खानु हुन्छ । घर नबगाएकाहरू दिन भर काममा जानु हुन्छ । बस्नलाई सामूहिक बस्नु हुन्छ’ पीडितहरूको दैनिकी सुनाउँदै पालिका अध्यक्ष मोक्तानले भने ‘उनीहरूलाई परनिर्भर बनाउनु हुँदैन । समय अनुसार आम्दानी गर्न सक्ने वातावरण मिलाउनु पर्छ । त्यसको लागि सबैको साथ चाहिन्छ ।’

दशैं, तिहार जस्ता चाड पर्व नजिकिए पनि बाढी पहिरोको चपेटामा परेकाहरूलाई थप पीडा भोग्न नपरोस् भन्ने भावनाले खाद्यान्न र ओढ्ने, पकाउने भाडा सहयोग गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनका सदस्यहरूको भनाई छ । रामेछाप जिल्लामा गएको बाढी पहिरो प्रभावितहरूलाई समग्रमा १५ लाख बराबरको राहत प्याकेज आफूहरूले हस्तान्तर गरिएको बताउँदै केही दिन भित्रै रामेछाप उद्योग वाणिज्य संघको सहकार्यमा मिल्ती, फर्पु र धोबीका पहिरो प्रभावित परिवारलाई पनि हस्तान्तरण गरिने फाउन्डेसनका घिमिरेले जानकारी दिए । ‘ती ठाउँको लागि पनि प्याकेज तयारी अवस्थामा राखेका छौँ । केही दिनभित्रै पीडितहरूले पाउनु हुन्छ ।’

 

यस अगाडि पनि जिल्ला विपद् व्यवस्थापन समिति, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा, गैरसरकारी संस्था महासंघ, रामेछाप उद्योग वाणिज्य सङ्घसहित विभिन्न सामाजिक संघसंस्थाहरुले राहत सामाग्री प्रदान गरेका थिए । हाल सम्म सबै संंघ संस्थाहरूले खाद्यान्न, जस्ता पाता जस्ता राहत मात्रै दिएको बताउँदै पालिका अध्यक्ष मोक्तानले आगामी दिनमा सहयोग गर्ने संघसंस्थाले नगदै राहत उपलब्ध गराइदिन अनुरोध गरे।