जिल्ला समन्वय समिति रामेछापले उत्कृष्ठ काम गर्ने मन्थली नगरपालिकासहित सुनापति र उमाकुण्ड गाउँपालिकालाई सम्मान गर्‍यो

| कात्तिक ९, २०८१ शुक्रबार

A A A
A A A

९ कात्तिक, रामेछाप । जिल्ला समन्वय समिति रामेछापले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’मा राम्रो नतिजा ल्याउने दुई पालिकासहित तीन स्थानीय तहलाई सम्मान गरेको छ । जिल्लाका ८ वटा स्थानीय तह मध्ये ‘लिजा’मा राम्रो अंक ल्याउने जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिका र सुनापति गाउँपालिकालाई (जिसस) ले शुक्रवार सम्मान पत्रले सम्मान गरेको हो । 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले समन्वय प्रमुख चिना खड्का (कार्की) को अध्यक्षतामा भएको गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमको अवसर सम्मान पत्रद्वार सम्मान गरेका हुन् । 

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गर्ने मूल्याङ्नमा  जिल्लामा अन्य स्थानीय तह भन्दा निकै राम्रो नतिजा ल्याउने मन्थली नगरपालिका र सुनापति गाउँपालिकालाई जिल्लाभरका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसहित जिल्लाका सबै सरकारी कार्यालयको उपस्थिति रहेको भव्य कार्यक्रममा बिच सम्मान प्रदान गरिएको हो ।

 

उनीहरूलाई अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा राम्रो नतिजा ल्याएको आधारमा सम्मान गरिएको समन्वयले उल्लेख गरेको छ । त्यस्तै स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्न (एफ्आरए) मा जिल्ला कै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उमाकुण्ड गाउँपालिका (८५ अंक) र मन्थली नगरपालिका (८३.‍५ अंक) लाई सम्मान गरेको छ ।

 

संघीय मन्त्रालयले ८१ नम्बर भन्दा माथि अंकलाई उत्कृष्ठ मान्दै आएकोमा उमाकुण्डको ८५ अंक आएको र मन्थलीको ८३.५ अंक आएकाले उनीहरूलाई सम्मान गरिएको जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाँलले बताए । 

यसरी जिल्लाका तीन पालिकालाई दुई विधामा सम्मान गर्दै जिल्ला समन्वय प्रमुख खड्काले आगामी दिनमा पनि यो नतिजालाई थप सुधार गरेर काम गर्न स्थानीय तहहरूलाई आग्रह गरिन् । ‘यो नजितालाई आगामी दिनमा पनि थप बचाउँदै त्यो भन्दा राम्रो हुनु पर्‍यो’ समन्वय प्रमुख खड्काले भनिन् ।