रामेछापको नामाडीमा प्रहरी नै ‘चकित’ पर्ने गरी अमृतको हत्या गरेको खुलासा, आफ्नै भाउजू, भतिजो–भतिजीसहित ५ जनाले यसरी मारे ?

| कात्तिक १२, २०८१ सोमबार

सांकेतिक तस्बिर
A A A
A A A

१२ कात्तिक, रामेछाप । रामेछापको नामाडीमा एक पुरुषलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरी ज्यानै लिएको घटना भएको रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको छ । यो घटना निकै चलाखी पूर्ण तरिकाले घटाइएको रामेछाप प्रहरी उच्च स्रोतले रामेछाप टाइम्सलाई बताएको हो । 

 

गएको असोज १५ गते गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीमा आफ्नै भाउजू, भतिजी, भतिजो र अन्य दुई भान्जा नाता पर्नेहरूले आरुबोटेका अन्दाजी २७ वर्षीय अमित सुनुवारको ज्यान लिएको खुलासा भएको हो । 

 

हाल रामेछाप प्रहरीको नियन्त्रणमा रहेका पाँचै जनाले अमृतलाई निर्घात कुटपिट गरी ज्यान लिएको बुझिएको छ । शरीरका विभिन्न अंगमा निल्डाम देखिएका मृतक सुनुवारको हत्या गरेको प्रारम्भिक बयान उनीहरूले स्वीकार गरेको एक प्रहरी अधिकारीले रामेछाप टाइम्सलाई बताए । 

 

‘पहिला कुटपिट गरी ‘सख्त’ बनाएर झुण्ड्एको जस्तो देखिन्छ । तर, पहिले भने उनीहरू नै अमृतले झुन्डिएर ज्यान लिएको भनेर रुँदै हामी कहाँ आएका थिए’ ती प्रहरी अधिकारीले भने ‘मृतकको शरीरमा नीलडाम देखेपछि हामीले घटनालाई गहिराइमा गएर अनुसन्धान गर्दा उनीहरूले घटना बारे फेरिसता बताए ।’

 

उक्त हत्या प्रकरणमा नाबालिगका समेत जोडिएकाले प्रहरीले सार्वजनिक गर्न नमिलेको ती प्रहरी अधिकारीको भनाई छ । अनुसन्धानबाट पहिलो कुटपिट गरी मारेर झुन्ड्याएको खुलेको ती प्रहरी अधिकारीले सुनाए । 

 

आफ्नै परिवारका सदस्यले दशैंको मुखमै घटाएको उक्त घटना प्रहरीलाई नै चकित पार्ने गरी घटाइएको भन्दै नियन्त्रणमा लिएका उनीहरूको अनुसन्धानमा आफूहरू सफल भएको ती प्रहरी अधिकारीको भनाई छ । 

 

सोही घटना बारेमा बुझ्दा नामाडीका वडा अध्यक्ष दीपक कार्कीले आफूहरूले घटना घटेको बारेमा जानकार रहेको सुनाउँदै मृतकको पोस्ट मार्टम गर्न मन्थली पठाइएको र परिवारकै सदस्य नियन्त्रणमा परेको भन्दा अन्य कुनै जानकारी नभएको रामेछाप टाइम्सलाई बताए । 

 

‘शव मन्थली लगे । त्यसपछि त्यो गाउँ घर, वरपरका कसैले केही भनेको सुनिएको छैन । हत्या हो कि आत्महत्या’, घटना बारे बोल्दै अध्यक्ष कार्कीले भने ।