संगसंस्थामा काम गर्दा कसैले पनि यो पार्टी, त्यो पार्टीको नहेर्नुहोस्, म सबैको मन्त्री हुँ– राज्य मन्त्री तामाङ
१३ कात्तिक, रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले कुनै पनि संस्थामा राजनीति देखिन नहुने धारणा राखेका छन् । केही गलत मनसाय भएका व्यक्तिहरू सहकारी क्षेत्रमा भएको कारण राम्रा सहकारीहरू पनि मुछिन पुगेको उनको भनाई छ । जिल्लाको विकासको लागि आफूले धेरै भन्दा धेरै बजेट ल्याउने उनको प्रतिबद्धता थियो । साथै, संस्था र जिल्लाको विकास गर्न पार्टी भन्दा माथि उठेर काम गर्न आवश्यक रहेको उनको धारणा थियो ।
सोमबार नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राज्य मन्त्री तामाङले सहकारी क्षेत्रमा धेरै राम्रो काम गर्ने सहकारीहरू भएको भए पनि पछिल्लो समयमा केही बदमास सहकारीहरूको कारण मान्छेरहरु सहकारी भन्ने सुन्न नचाहने परिस्थितिमा पुगेको बताए ।
आफूलाई कुनै पार्टी विशेषको मात्रै मन्त्रीको रूपमा नहेरिदिन आग्रह गर्दै आफू रामेछापेली सबै जनताको मन्त्री हो भन्दै भने ‘म, काँग्रेस, एमाले, माओवादी सबै सबैको मन्त्री हो । म मेरो मन्त्रालयबाट हुने काम उज्यालो नेपाल अन्तर्गत रामेछापका ६४ वटै वडाका कुनै पनि जनताको घरमा बत्ती बलेको छैन भने म त्यी घरमा बत्ती पुर्याउने छु ।’
पार्टी भित्रमा एकले अर्कोलाई खुट्टा तान्ने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका राज्य मन्त्री तामाङले ‘सङ्घसंस्थामा यो फलानो पार्टीको हो भनेर नहेर्नुहोस् । पार्टीलाई बिर्सिदिनुहोस् । हामी सबै एक भएर काम गरौँ ।’
आफ्नो मन्त्रालयबाट भइरहेका बत्ती र सिँचाइको काम बारेमा जानकारी गराउँदै आउने आर्थिक वर्षमा राम्रो बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । आफू पदमा रहँदा मात्रै नभएर नहुँदा पनि शव वाहन, एम्बुलेन्स जस्ता धेरै सहयोग गरेको उल्लेख गर्दै नागरिकहरूको सेवाको लागि मन्थली–काठमाडौँ उडान सुचारु गराइसकेको बताए ।
खुर्कोट पुल निर्माणको लागि मन्थली नगरपालिका र आफ्नो सक्दो पहलमा एक हप्ता भित्रै पुल जोड्न सफल भएको सुनाउँदै खिम्ती किर्नेमा बाढीले बगाएको सडक सुचारु गर्न सफल भएको बताए ।
झण्डै १० हजार सदस्य रहेको नवजागरण साकोषले निकै राम्रो र उदाहरणीय काम गरेको आफ्नो ठम्याइ रहेको सुनाउँदै राज्य मन्त्री तामाङले आगामी दिनमा थप नीति नियम भित्र बसेर काम गर्न आग्रह गरे । सहकारी संस्थाहरूको विकासको निम्ति आफूले सम्बन्धित मन्त्रालयसँग सकेको पहल गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा बचत कर्ताहरूको रकम सुरक्षित र उपयोगी कार्यक्रम गर्न राज्य मन्त्री तामाङले जोड् दिए ।
नवजागरण साकोषले गरेका कार्यहरू सुनेपछि उनले प्रशंसा गर्दै सो सहकारीको सदस्यता समेत लिए । उनले सहकारीलाई कस्तो बनाउने भन्नेमा सबै सदस्यहरूको उत्तिकै हात हुने बताए ।