संघले अधिकार नदिँदा प्रदेशले आफ्नो औचित्य पुष्टि गर्ने मौकै पाएनन् – मन्त्री खड्गी (भिडिओ)

| माघ १०, २०८१ बिहिबार

A A A
A A A

१० माघ, बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरि प्रभा खड्गीले संघ (केन्द्र) सरकारले पूर्ण अधिकार नदिँदा प्रदेशहरूले आफ्नो औचित्य पुष्टि गर्ने मौका नपाएका दाबी गरेकी छिन् । महिलाहरूले आर्थिक क्रान्ति नगरे सम्म उनीहरूको जीवनमा आमूल परिवर्तन आउन नसक्ने जिकिर गर्दै त्यसको उन्मूलनको लागि आफूले कार्य अगाडि बढाएको मन्त्री खड्गीको तर्क छ । 

 

बिहीबार नेपाल पत्रकार महासंघ रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खड्गीले संघ सरकारले अधिकार नदिएकै कारण प्रदेशहरूले काम गर्न नसकेको तर्क गरिन् । ‘प्रदेश बारे निरन्तर प्रश्न उठिरहेको छ । तर, संघले अधिकार नदिँदा ७ प्रदेशले आफ्नो औचित्य पुष्टि गर्ने मौकै पाएका छैनन्’ मन्त्री खड्गीले भनिन् । 

 

आफू मन्त्री भएको ५ महिना भित्र मन्त्रालयले गरेका कामको फेरिसस्ता सुनाएकी मन्त्री खड्गीले महिलाहरूले आर्थिक क्रान्ति नगर्दा सम्म देश समृद्ध हुनै नसक्ने दोहोर्‍याइन् । प्रदेशका ४५ वटा पालिकाहरूमा गृहिणी महिलाहरूको लागि आवश्यक कार्यक्रम संचालन गरेर त्यसको सुरुवात गरेको उनको भनाई छ । 

विद्यालयमा नैतिक शिक्षाको पठनपाठन गर्ने तयारी अगाडि बढाएको, नयाँ–नयाँ आविष्कारको क्षेत्रमा काम गर्न २८ करोड बजेट छुट्याएको र गृहिणी महिलाहरूको जीवनस्तर उकासन निकै महत्त्वपूर्ण कार्यक्रम लागू भएको सुनाउँदै निवर्तमान काठमाडौँ महानगरपालिकाको उपप्रमुख समेत रहेकी नेतृ खड्गीले भनिन् ‘विज्ञान र प्रविधिको प्रयोग हामीले गर्नै सकेका छैनौँ । अब आविष्कारको क्षेत्रमा नयाँ–नयाँ खोज गर्नको लागि २८ करोड बजेट विनियोजन गरिएको छ ।’

 

राज्यले व्यवस्था गरेको महिला अधिकारलाई समेत विभिन्न बहानामा छुटाउने गरेको आरोप लगाउँदै ‘छोरालाई जस्तै छोरीलाई पनि अंश चाहिन्छ । दिने वातावरण बनाउनु पर्छ ।’