लिखु तामाकोशीमा सार्वजनिक सुनुवाईः पालिका भवन र अस्पताल नबन्दा ‘सबै ओझेलमा’, निर्माणमा जुट्न सबै ढिक्का बन्नु पर्ने साझा प्रतिबद्धता
३० साउन, रामेछाप । शुक्रवार लिखु तामाकोशी गाउँपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गरेको सार्वजनिक सेवा प्रवाहको विषयमा अन्तिम एवं चौमासिक सार्वजनिक सुनुवाइ आयोजना गर्यो । नागरिकसँग हाकाहाकी जवाफ राख्ने थलो भएकाले कार्यक्रम आयोजना गरिएको झट्टेश्वरी माविका विद्यार्थीहरू र स्थानीयको पनि उपस्थिति रहेको थियो ।
गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष जिसीले झण्डै २ घण्टा सम्म लगाएर गाउँपालिकाले एक आर्थिक वर्षमा सञ्चालन गरिसकेका योजना तथा कार्यक्रमको लामै फेरिस्ता सुनाए । कार्यक्रमको हल भित्रकै वातावरणलाई स्मरण गर्ने हो भने, उनले सुनाएका योजनाहरूको सञ्चालन साँच्चै सन्तोषजनक र लिखु तामाकोशी गाउँपालिका बासीले सोचेका केही–केही बाहेक सबै पूरा भएका छन् । ७ वटा वडा रहेको यो गाउँपालिकाले आफ्नो पालिका भित्र सञ्चालन गरेका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशु, रोजगारी लगायतका विषयमा गाउँपालिकाले सन्तोषजनक काम गरी रहेको र यसलाई थप राम्रो बनाउन सबैको साथ चाहिएको योजना शाखा प्रमुख जिसीले प्रतिवेदन सार्वजनिक गर्दै उल्लेख गरे । कड्किएर भन्ने हो भने उनले ‘गोलमटोल प्रतिवेदन सार्वजनिक गरे र सबै राम्रो गर्यौँ भन्न भ्याए ।’
चालु आर्थिक वर्ष २०८३/०८४ का बारेमा सार्वजनिक गरिएको बजेट भन्दा चुइँक्क मुख नखोलेका उनले राजनीतिक नेता दलका नेता जस्तै शब्द र तर्कहरू मज्जै सँग सुनाए । रोचक, कुरा के छ भने १ नम्बर भन्दा बाहेक सबै वडाका वडा अध्यक्षहरू समेत सहभागी रहेको सार्वजनिक सुनुवाइमा सहभागीहरूले भने जिसीले सार्वजनिक गरेको प्रतिवेदनमा भन्दा बढी विकास निर्माणको आफ्नै ‘घर र अस्पतालमा’ बनाउन जुट्नु पर्नेमा केन्द्रित बने । स्थानीय सरकार बनेको १० वर्ष पुग्नै लाग्दा सम्म यो गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न नसकेपछि स्थानीय सरोकारवालाहरूले एकै स्वरमा पालिका र अस्पताल निर्माणमा चुकेको भन्दै दुखेसो गरे । यसरी सबैको शिर झुकाउनु पर्ने काम बनी रहेको उल्लेख गर्दै स्थानीयहरूले पालिकाको भवन र अस्पताल निर्माणमा एकजुट भएर लाग्नु पर्ने अठोट् दर्साए ।
कर्मचारीले २ घण्टा लगाएर पानी पिउँदै प्रतिवेदन सार्वजनिक गर्न ठुलै कसरत गर्नु परेकोमा तिखो प्रहार गर्दै नेकपा गाउँपालिकाका नेता धुव्र कार्कीले जनताले स–साना काममा अल्झने बेला सकिएको तर्क गरे । गाउँपालिकाको भवन बन्न नसक्नु सबैको लागि निराशाजनक रहेको भन्दै चिन्ता व्यक्त गरेका नेता कार्कीले ‘हामी निर्णायक घडीमा छौँ, अब चुक्नु हुँदैन’ भने । लामो समय सम्म पनि गाउँपालिका भवन निर्माण गर्न कसैले अध्यक्षलाई साथ दिन नसकेकोमा वडा नं ३,४ र ५ का वडा अध्यक्षलाई प्रश्न गर्दै आगामी दिनमा समस्या समाधान गर्न अध्यक्षलाई साथ दिन आग्रह गरे । उनले भने ‘यो भवन नबन्दा हामी सबैको शिर निहुरिएको छ, यहाँका जनता पनि सबै मुद्दा मात्रै हाल्ने, काम गर्न नदिने । एउटा मान्छे काम गर्छु भने अध्यक्ष बन्दा केही गर्न नदिने सबै मिलेर बन्धक जस्तो बनाउने यो भएन । यसमा मेरो भागमा पर्ने दोष म, पनि लिन्छु हामी सबैको शिर निहुरिएको छ । अब उहाँलाई साथ दिऊँ भवन बनाउने काम तत्काल पूरा गर्न लागौँ ।’
जनप्रतिनिधिलाई मात्रै दोष दिएर उम्कने ठाउँ नरहेको भन्दै नेता कार्कीले स्थानीय, कर्मचारी र राजनीतिक दलहरू पनि उत्तिकै जिम्मेवार रहेको नेता कार्कीको भनाई छ । योजना शाखा प्रमुख जिसीले सार्वजनिक गरेको प्रतिवेदन माथि टिप्पणी गर्दै पालिकाले गरेका कामहरू एक दिने सार्वजनिक गर्ने भन्दा पनि नियमित जनताको पहुँचमा पुर्याउनु पर्ने सुझाए ।
त्यस्तै पूर्व जनप्रतिनिधि समेत रहेका एमाले नेता लीला बहादुर बस्नेतले पनि आफूहरू पालामा भवन निर्माण गर्न नसकिएकोमा क्षमा माग्दै जसरी भए पनि अहिलेको टिमले भवन निर्माण गराएर छाड् जोड् दिए । उनले आफूहरूले पनि गर्नु पर्ने सहयोगमा तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै पालिकाले अस्पताल र आफ्नै भवन नबने सम्म जनताको लागि के गर्यौँ भन्ने प्रश्नले गिज्याउने गरेको उनको तर्क थियो ।
सान नेपालको सहजिकरणमा आयोजित सार्वजनिक सुनुवाइलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केशव महतले पनि उपलब्ध स्रोत र साधनको कार्यान्वयन गर्ने क्रममा प्रवाह भएका सेवाहरू भन्दा पनि आफ्नै भवन बनाउन नसक्दा सबै काम ओझेलमा परेको दाबी गरे । आफूहरू निर्वाचित हुनु भन्दा पहिले देखिने प्राविधिक रूपमा भवन निर्माणको काम झमेलामा परिसकेको दृष्टान्त बताउँदै भवन निर्माण गर्न आफूहरूले अख्तियारसँगै प्रदेश र संघीय सरकार सम्म पुग्दा पनि समस्या समाधान नहुँदा काम गर्न नसकिएको प्रस्ट पारे । कार्यकालको अन्तिम अवस्थामा आइपुग्दा सम्म भवन बनाउन नसक्न आफूहरूको लागि निकै दुःखको विषय भएको पटक–पटक दोहोर्याएका अध्यक्ष महतले अरूलाई दोष दिन्न भने ।
उनले प्रस्ट पार्दै भने ‘हामीले नगरेका पनि हैनौँ तर के गर्ने आफ्नै घर बनाउने नसक्नेले अरू कुरा नगरौँ भन्ने कुरा उठेपछि बोली रोक्ने अवस्था छ । म अरूलाई दोष पनि दिन्न हाम्रो टिमले सकेको प्रयास गरेको छ । अब छाड्दै गर्दा पनि जग्गा मिलाएर राखिदिन पाए अर्को आउने टिमले सजिलै भवन बनाउँथे ।’

पछिल्लो पटक सांसदमा समेत सांसद डा.कृष्णहरि बुढाथोकीले जनताको सेवाको लागि सार्वजनिक सम्पत्ति निर्माण गर्न बाधा अवरोध पुगी रहेको भनी पालिकाको भवन र अलपत्र बन्न पुगेको अस्पतालका बारेमा कुरा उठाइ सकेकाले अब भने निर्माण कार्यले गति लिन सक्ने विश्वास अध्यक्ष महतको छ । निकै सुझबुझ पूर्ण तरिकाले काम गर्ने निर्माणको क्षेत्रका अनुभवी पालिका अध्यक्ष महतले स्वास्थ्य मन्त्रालयबाट निर्माण कार्य अगाडि बढाउन मिल्ने गरी निर्देशनात्मक पत्र आउने चरणमा रहेको जानकारी गराउँदै समस्याहरू समाधानको चरणमा रहेको जानकारी गराए ।
जिम्मेवारीबाट बिदा लिने बेला भएको तर्क संकेत गर्दै जहाँ रहेर पनि पालिकाको विकासको लागि सधैँ हातेमालो गर्ने उनको प्रतिबद्धता छ ।
