रास्वपा नेतृत्वले जातीय र धार्मिक द्वन्द्व निम्त्याउने काम गर्‍यो, प्रधानमन्त्री शाहले सांसदमै झुटो बोले : घिसिङ

| भदौ ७, २०८३ आइतबार

A A A
A A A

०७ भदौ, रामेछाप । उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले (रास्वपा) नेतृत्वले जातीय द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् । २१ फागुन २०८२ को निर्वाचन बेलामा आफ्नो पार्टी (रास्वपा) सँग मिल्न जाँदा (रास्वपा) पार्टी सभापति रवि लामिछाने ले नै आफूसँग ‘तपाईँले तामाङ पार्टी खोलेर नबस्नुस्’ भनेको स्मरण गर्दै रास्वपाले जातीय र धार्मिकतालाई उक्साउने काम गरेको टिप्पणी गरे । पूर्व भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री समेत रहेका अध्यक्ष घिसिङले नयाँ पार्टीले जातीय र धार्मिक द्वन्द्वलाई बढवा दिने काम गरेको जिकिर  गरे । 

 

पूर्व मन्त्री घिसिङले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्टमबाटै इन्डक्सन चुलो र गाडीको प्रयोग गर्दा विद्युत क्षमताले धान्दैन भनेर झूटो बोलेको जिकिर गर्दै हाल उत्पादन भएको विद्युत निर्यात गरेर पनि स्वदेशमा पर्याप्त उपभोक गर्न सकिने टिप्पणी गरे ।

 

आइतबार बिहान रामेछाप सदरमुकाम मन्थलीमा पत्रकार भेटघाट गर्दै अध्यक्ष घिसिङले भने ‘त्यो बेला रबीजी ले नै मलाई तामाङ पार्टी खोलेर नबस्नुस् भन्नु भयो, हामीले कहिल्यै यो पनि जात, त्यो जात भनेका छैनौँ ।’ उज्यालो नेपाल पार्टीलाई जनजाति पार्टीको आरोप लगाउनु ठुलो अत्याचार/अन्याय/षडयन्त्र भइरहेको जिकिर गर्दै अध्यक्ष घिसिङले भने ‘म यो पार्टीको सदस्यै नहुँदा मलाई त्यसरी आरोप लगाए, एउटा जिम्मेवार दलको नेताले जातीयतालाई उक्साउने र जाति द्वन्द्वमा लाने काम गर्नु भयो, रविप्रति इङ्गित गर्दै अध्यक्ष घिसिङले भने ।’ ऊर्जा क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित अध्यक्ष घिसिङले आफ्नो पार्टीमा ६० प्रतिशत जनजाति भन्दा बाहेकको बर्चस्सो रहेको जानकारी दिए । 

‘ऊर्जाको क्षेत्रमा काम गरेर देश तथा विदेशमा परिचित कुलमान घिसिङलाई सकाउने कुनै अरू ठाउँ नपाएपछि विरोधीहरूले जातीय आरोप लगाएर मलाई तल पार्न खोजेका हुन्’ अध्यक्ष घिसिङले दोहोर्‍याए । नयाँ तथा पुराना सबै पार्टी ‘आफै सकिने’ लाइनमा गइरहेको दाबी गरेका अध्यक्ष घिसिङले बलियो वैकल्पिक राजनीतिक शक्तिको रूपमा उज्यालो नेपाल बनेको दाबी गरे । 

 

वर्तमान सरकारले विद्युत् बक्यौता छुट दिन विभिन्न प्रपञ्चहरू गरिरहेको आरोप लगाउँदै विद्युतमा लगाइएको भ्याट खारेज गरिनु पर्ने माग दोहोर्‍याए । पूर्व मन्त्री समेत रहेका अध्यक्ष घिसिङले आगामी निर्वाचन लक्षित देशव्यापी संगठन विस्तार लोभलाग्दो ढङ्गबाट भइरहेको धारणा राखे । विदेशमा समेत पार्टीको संगठन बनिरहेको जानकारी दिए । उनले आउँदो वैशाखमा निर्वाचन हुने आङ्कलन गर्दै निर्वाचनपछि बागमती प्रदेश सरकार आफ्नो पार्टीको बन्ने विश्वास व्यक्त गरे ।

आइतबारै घिसिङ नेतृत्वको पार्टीले जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको नगर कमिटी विस्तार गर्दै छ । शनिवार मात्रै गोकुलगंगा गाउँपालिकामा यो पार्टीले डिबि तामाङको नेतृत्वमा २७ सदस्यीय गाउँ कमिटी गठन गरेको थियो । केन्द्रीय अध्यक्ष घिसिङको गृह जिल्ला समेत रहेको उज्यालो नेपाल पार्टीले रामेछापमा उमाकुण्ड गाउँपालिका बाहेक अन्य सबै पालिकामा कमिटी बिस्तार सकेको जनाएको छ ।