कम्युनिष्ट एकता चर्चा : एमाले सांसद श्रेष्ठ भन्छन् ‘यसले कम्युनिष्ट आन्दोलन अलपत्र पर्न सक्छ, भँगेरी खण्डहर बन्यो’

| साउन ८, २०८३ शुक्रबार

A A A
A A A

०८ साउन, रामेछाप । नेकपा (एमाले) का नेता एवं प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले कम्युनिष्ट पार्टीहरू बिच हुन लागेको एकताले फाइदा नपुग्ने जिकिर गरेका छन् । उनले चुनाव लक्षित एकताले दलहरूलाई कम्युनिष्ट आन्दोलनलाई सही निर्णयमा नपुर्‍याउने धारणा राखेका हुन् । अहिलेको एकताको चर्चा दलहरूको स्वार्थ केन्द्रित रहेको सांसद श्रेष्ठको तर्क छ । 

 

बिहीबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद समेत श्रेष्ठले भने ‘अहिले फेरी एकताको चर्चा चलिएको छ तर, यो पद र सत्ताको लागि प्रेरित भएर गरिने यस्ता एकताले कम्प्युनिष्ट आन्दोलनलाई र पुष्पलाले देखाएको (जबज) लाई सही ठाउँमा पुर्‍याउँदैन ।’ एमाले रामेछापका निवर्तमान अध्यक्ष समेत रहेका प्रदेश सांसद श्रेष्ठले तत्कालीन परिवेशमा दलहरू बिच विस्तृत छलफल र जनताको भावना विपरीत गरिएको एकताले कम्युनिष्ट आन्दोलन धरापमा पर्न सक्ने धारणा राखे । 

पछिल्लो केही दिन यता केन्द्रमा नेकपाका संयोजक प्रचण्ड, सह संयोजक माधव नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच पार्टी एकिकरणको लागि छलफल भइएको चर्चाका बिच तल्लो तहका कार्यकर्ताको भावना विपरीत पार्टी एकता सफल नहुने नेता श्रेष्ठको धारणा व्यक्त भएको हो । 

 

बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति समेत रहेका सांसद श्रेष्ठले रामेछाप नगरपालिकाको भँगेरी स्थित पुष्पलाल श्रेष्ठको जन्म थलोको संरक्षण गरी राजनीतिक एवं कम्युनिष्ट पार्टीको उत्पत्ति भएको ठाउँको प्रचार गर्न कम्युनिष्ट नेताहरू असफल भएको जिकिर गरे । उनले भने ‘पटक–पटक कम्युनिस्टका सरकार बन्दा हामीले यहाँको विकास र संरक्षण गर्न पार्टीको नेतृत्वले चासो दिएन।’ 


प्रदेश सरकारको नेतृत्व तहकै जिम्मेवारीमा रहेका नेता श्रेष्ठले भँगेरीमा लामो समय देखि अलपत्र अवस्थामा रहेका सभा हल लगायतलाई स्मरण गर्दै भने ‘त्यो ठाउँ अहिले खण्डहर अवस्थामा छ।’ प्रदेश सरकारको विभिन्न जिम्मेवारीमा रहेका उनले समाधानको गर्न सकिने विषय र आफ्नो भूमिका बारे भने मुख खोलेनन् ।