रामेछाप कृषि, पर्यटन तथा औद्योगिक मेला प्रर्दशनीः उद्घाटनमा न्यून दर्शक र स्टल खाली, नेताहरूले भने ‘मेलाको साख घट्यो’ (भिडिओ)

| माघ १७, २०८१ बिहिबार

A A A
A A A

१७ माघ, रामेछाप । बुधवार देखि सुरु भएको ११ दिने ‘कृषि, पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी’ को उद्घाटनको दिन दर्शक एवं अवलोकनकर्ताको न्यून उपस्थिति भएपछि आयोजक झस्किएको छ ।  कृषि, घरेलु तथा साना उद्योगबाट उत्पादित उपजहरूले भरिभराउ हुने भनिएकोमा ६५ प्रतिशत स्टलहरू खाली (तयार हुँदै) भएपछि पुगेका दर्शकहरू पनि ‘निराश भएर’ फर्किएको देखिन्थे । 

 

रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको २६ गते सम्म चल्ने कृषि मेलामा जिल्ला भित्र उत्पादित कृषि सामाग्रीहरूको प्रचारप्रसार, खरिद बिक्री गर्ने उद्देश्यका साथ मेला आयोजना गरिए पनि पहिलो दिन भने दर्शकको अपेक्षा अनुसार मेलाको तयारी नपुगेको अवलोकन गर्न पुगेका दर्शकहरूको गुनासो सुनिन्थ्यो । ‘यो अलि तयारी नपुगेको देखियो । तल तिर पनि सबै स्टल खाली छ, के हेर्नु’ मेलामा देखिएका एकले भने।  

 

स्टलहरू तयार पारिँदै गरिएको र २० गतेपछि राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति हुने भएकाले पनि त्यसपछि भने दर्शकहरू भरिभराउ हुने आयोजकको दाबी छ । तर, पहिलो दिने भने उद्घाटनको मञ्च अगाडि रहेका एक दर्जन स्टलहरू बाहेक सबै तयारी मै रहेको देखियो । तयार भएका स्टलहरूमा जुनार, किवी, मुला, साग, केरा जस्ता फलफूल र तरकारीहरू नै छन् । 

मञ्चमा छिमेकी जिल्लाहरूबाट आएका उद्योग वाणिज्य ‘संघका पाउन’, राजनीतिक दल, जनप्रतिनिधिहरू देखि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले भरिभराउ देखिए पनि मञ्च अगाडिको भने खाली जस्तै देखियो । झन्, मञ्चबाट उनीहरूले गरेका ‘भाषण’ लम्बिँदै जाँदा केही भएका दर्शकहरू पनि मैदान बाहिरिएको देखिन्थे । 

 

संघको कार्यालयदेखि सुरु भएको पञ्चेबाजा, विभिन्न जातजाति भेष भूषासहितको प्रभातफेरीमा सामेल दर्शकहरू समेत औपचारिक कार्यक्रम पछि बाहिरिए । यसले पनि मञ्चमा बस्नेहरूलाई असहज महसुस गराएको देखिन्थ्यो । 

 

सोही विषयलाई सम्बोधन गर्दै राजनीतिक दलका नेताहरूले कार्यक्रमको मोडेल नै परिवर्तन गर्न आवश्यक देखेको धारणा राखे । विगतको परम्परालाई तोड्दै कर्मकाण्डी परिपाटीबाट माथि उठ्नु पर्नेमा उनीहरूले सरोकारवालाको ध्यानाकर्षण गरे। 

 

नेकपा माओवादी केन्द्र रामेछापका नेता उद्धव रम्तेलले भने ‘जनताको आकर्षण बटुल्नुको सट्टा विकर्षण तर्फ गएको पाइयो । आकर्षण हुनु पर्ने मेला महोत्सवलाई अब परम्परागत क्रम भङ्ग गर्दै पुरानै शैलीलाई तोड्नु पर्ने देखियो ।’  त्यसको लागि आम मानिसले भन्दा पनि मञ्चमा आसीन जनप्रतिनिधि देखि सबैले मनन गर्दै नयाँ सोच र जनताको मन जित्ने र आकर्षण हुने कार्यक्रमहरू ल्याउन सक्नु पर्ने दाबी गरे । 

 

 

नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालले पनि मेला महोत्सवको ‘साख घट्दै गएको’ धारणा राखे । उत्पादन मुखी कार्यक्रमहरू लागू गर्न नसकिएको र उद्योगीहरू बाहिरबाट आयातित वस्तुको खरिद बिक्रीमा मात्रै जोडिँदा कृषकहरूमा निराशा छाएको तर्क गरे । स–साना, उद्योगहरू खोलेर उत्पादन गर्दै आत्म निर्भर बन्न तर्फ केन्द्रित नभए मेला महोत्सवको औचित्य कायम रहन नसक्ने उनको भनाई छ ।   

 

 

त्यस्तै, (रास्वपा) रामेछापका उपसभापति मोहन कार्कीले मेला महोत्सव पुरानै शैलीमा अगाडि बढेकाले जनताको उत्साह नदेखिएको धारणा राखे । कृषि, जल, पर्यटन, औध्यौगिक सबैलाई चलायमान गर्दै अगाडि जानु पर्नेमा जोड् दिँदै जिल्लाको आम्दानी बाहिरिने गतिविधिलाई रोक्नु राम्रो हुने उनको तर्क थियो । 

 

नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले पनि मेलामा न्यून उपस्थिति देखेपछि ‘दरबारको कुकुरको कथा सुनाए ।’ मेलाको मञ्च अगाडि खाली देखेपछि कथा सुनाउँदै जिल्लाको विकासमा मेला महोत्सव सँगै मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्न सक्नु पर्नेमा जोड् दिए । खाँडादेवी, शैलुङ्सहित पाँच पोखरी, जठ्ठा पोखरीको प्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रचार सम्भावनालाई साहाकार पार्न निजी तथा सरकारी क्षेत्रको ध्यान केन्द्रित गर्न आह्वान समेत गरे । 

 

उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य प्रमुख अतिथि रहेको सो कार्यक्रममा उपसभापति कार्कीले साना तिना कुरामा अल्झिनु नहुने तर्क गर्दै सबै मिलेर विकास र समृद्धि खोज्न लाग्नु पर्नेमा जोड् दिए । 

 

७५ वटा स्टलहरू तयार पारिएको भनिएको उक्त कृषि मेलामा आठ वटै स्थानीय तहका कृषकहरूले उत्पादन गरेका कृषि उपजहरू राख्नलाई निःशुल्क स्टल प्रदान गरिएको संघका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए । 

 

कृषि मेला हेर्नलाई निःशुल्क प्रवेश दिएको प्रदर्शनी मेलामा साँझ ५ बजेदेखि सुरु हुने राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति हेर्न भने १०० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । दिनभर सञ्चालन हुने कृषि मेलामा भने निःशुल्क अवलोकन गर्न पाइने छ ।