दोरम्बा शैलुङ् गाउँपालिकामा ‘जिल्ला स्तरीय महिला भलिबल’ हुने, विजेताले १ लाख पाउने

३ फागुन, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका खेलकुद विकास समितिले जिल्ला स्तरीय (अन्तरपालिका) खुल्ला महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । त्यसको लागि तयारी तीव्र पारिएको आयोजकको भनाई छ ।
पालिका खेलकुद विकास समितिका अध्यक्ष इन्द्र रजन मगरले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार यही फागुनको ७ र ८ गते दुई दिने खुल्ला महिला भलिबल प्रतियोगिता गर्न लागेको हो ।
महिलाहरूको भलिबल खेललाई थप प्रोत्साहित गर्ने उद्देश्यले दुई दिने अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मगरले बताए ।
जिल्लाका आठ वटा स्थानीय तहबाट १–१ टिमको सहभागिता हुने अपेक्षा गरिएको सो प्रतियोगितामा सहभागी टिम थपघट हुन सक्ने बुझिएको छ ।
सो, प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टोलीले नगद ७० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष थापा मगरले बताए ।
त्यस्तै, तेस्रो हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । आयोजकले महिला भलिबल तर्फ सर्वाधिक राशि पुरस्कार भएको खेल भएको समेत दाबी गरेको छ ।
पालिकाको केन्द्र टोकरपुर खेल मैदानमा हुने प्रतियोगिताको पालिका अध्यक्ष मैनकुमार मोक्तानले उद्घाटन गर्ने छन् ।