रामेछाप दोरम्बा शैलुङ्मा ४ जिल्लाका होमस्टे सञ्चालकलाई ३ दिने प्रशिक्षण : राज्य मन्त्री तामाङले गरे उद्घाटन

| बैशाख २, २०८२ मंगलबार

A A A
A A A

२ वैशाख, रामेछाप । रामेछापको दोरम्बा शैलुङ्मा तीन दिने सामुदायिक होमस्टे प्रशिक्षण तालिम उद्घाटन गरिएको छ । आज मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छारम)ले बागमती प्रदेशको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा आयोजना गरिएको होमस्टे प्रशिक्षण भव्य कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् ।

 

नेपाली काँग्रेस दोरम्बा शैलुङ् गाउँपालिकाका सभापति एवं ओमनी होमस्टे सामुदायिक संस्थाको अध्यक्ष केशव लामाको अध्यक्षतामा दोरम्बा शैलुङ् गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानसहित वडा अध्यक्ष मेचमान योञ्जन, नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की, प्रमुख सल्लाहकार कृष्णबहादुर महत, नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठ, काँग्रेस नेतृ एवं जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीसहितको उपस्थितिमा तीन दिने सामुदायिक होमस्टे प्रशिक्षण तालिम उद्घाटन गरिएको राज्य मन्त्री तामाङका स्वकीय सुरेश सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

तालिम एवं सामुदायिक होमस्टे उद्घाटन गर्दै राज्य मन्त्री तामाङले होमस्टेहरू संचालनमा आउनुले दोरम्बाको विकासमा कोस ढुङ्गा साबित हुने धारणा राखे । पर्यटकीय क्षेत्र शैलुङ्को काख दोरम्बामा व्यवस्थित रूपमा स्थानीय उत्पादन र परिकारलाई चखाउन सक्ने गरी होमस्टे सञ्चालन गर्न आग्रह गर्दै राज्यको तर्फबाट गर्नु पर्ने सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए । मन्त्री तामाङले होमस्टेहरूले स्थानीय परिकार नै ग्राहकको माग बमोजिम प्रदान गर्न जोड् दिए ।

त्यस्तै दोरम्बा शैलुङ् गाउँपालिका अध्यक्ष मोक्तानले पालिकामा होमस्टेहरू बढ्दै गएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारले होमस्टे प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू अगाडि सारेको धारणा राखे । स्थानीय सरकारले स्थानीयहरूको माग बमोजिम विभिन्न कार्यक्रमहरू गरिरहेको दाबी गर्दै युवाहरूलाई स्वरोजगार बनाउन होमस्टे निकै महत्त्वपूर्ण रहेको बताए ।

प्रदेशको कूल १० लाख बजेट मार्फत चार जिल्लामा यो तालिम एवं कार्यक्रम लागू गरिएको हो । रामेछापमा सिन्धुली, दोलखा र सिन्धुपाल्चोकका ४० जना होमस्टे सञ्चालकहरू भेला भएर पर्यटनविद् एवं डाक्टर आलोक प्रसाईँबाट प्रशिक्षित भइरहेको ओमनी सामुदायिक होमस्टेका अध्यक्ष केशव लामाले रामेछाप टाइम्सलाई बताए ।

 

चार गते सम्म चल्ने उक्त प्रशिक्षण एवं तालिममा स्थानीय कला, संस्कृतिलाई जोड्दै न्यून लागतमा स्वरोजगार बन्न सकिने गरी प्रशिक्षण गरिने अध्यक्ष लामाको भनाई छ । दोरम्बा–२ मा भेला भएका होमस्टे सञ्चालकहरूले स्थानीय स्तरमा उत्पादन हुने सिस्नुदेखिका परिकारलाई ग्राहकको चाहना अनुसारको तयार पारी पर्यटकलाई प्रदान गर्न सकिने बनाउन लागि परेको अध्यक्ष लामाले बताए ।

 

पछिल्लो समय दोरम्बा शैलुङ्मा होमस्टे सञ्चालकहरू थपिने क्रममा छन् । भने, स्थानीय एवं सरोकारवालाहरूले संचालनमा रहेका होमस्टेहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु पर्ने माग गरेका छन् । संचालनमा रहेका होमस्टेहरूले ग्राहकको माग अनुसारको स्थानीय परिकार प्रदान गर्न नसकिरहेको गुनासो बढ्ने क्रममा रहेको छ । सो कुरालाई चिर्न प्रदेशले प्रशिक्षण कार्यक्रम लागू गरेको आयोजक भनाई छ ।

आजदेखि उद्घाटन भएको तालिमको ४ गते बिहीबार प्रदेशको संस्कृति पर्यटन मन्त्री विमल ठकुरीले समापन गर्ने समितिका अध्यक्ष लामाले बताए ।