काँग्रेस रामेछापले शुक्रवार ‘वृहत् बैठक’ डाक्यो, १५ औँ महाधिवेशनको अन्तिम तयारी गर्ने देखि यस्ता छन् मुख्य एजेन्डा ?
०५ जेठ, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले आउँदो शुक्रवार ‘वृहत् बैठक’ बैठक डाकेको छ । यो बैठकको अध्यक्ष एवं सभापतित्व कार्यवाहक सभापति नवराज थोकरले गर्ने छन् । उनी १४ औँ जिल्ला अधिवेशनबाट उपसभापति निर्वाचित भएका थिए । तर, पार्टी सभापति एवं पूर्व राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को सामाजिक सञ्जालमा केन्द्रीय सभापति गगन कुमार थापा विरुद्ध भ्रामक अभिव्यक्ति भाइरल भएपछि पदबाट निलम्बनमा पर्दा थोकरले काँग्रेस रामेछापको जिम्मा पाएका हुन् ।
थोकरले काँग्रेस रामेछापको नेतृत्व गर्ने अवसर पाउँदा आफूलाई पहिलो वरियताको उपसभापति दाबी गर्दै आएका लेखबहादुर कार्की भने असन्तुष्ट देखिएका छन् । यद्दयपी, उपसभापति कार्कीले सभापति (कान्छाराम) राज्य मन्त्री बने लगत्तै लामो समय कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरी सकेका छन् । थोकरले पनि २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको बेलामा सभापति तामाङ (कान्छाराम) बाटै आफूले समय पूर्ण दिन नसक्ने भन्दै कार्यबहाक सभापतिको जिम्मेवारी पनि पाएका थिए ।
शुक्रवार थोकरको नेतृत्वमा काँग्रेस रामेछापले पार्टीको पछिल्लो परिस्थितिको समीक्षा देखि सदस्यता अद्यावधिक लगाएका विषयमा गम्भीर छलफल एवं निर्णय गर्न सक्ने बुझिएको छ । गएको फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्ना उम्मेद्वार रामचन्द्र खड्का पराजित भएपछि काँग्रेस रामेछापले उक्त निर्वाचनको समीक्षा समेत गरेको छैन । निर्वाचनमा पार्टीकै केही नेताहरूले असहयोग गर्ने गरेको टिका टिप्पणी समेत हुने गरेका छन् । थोकर नेतृत्वको काँग्रेस रामेछापले यी सबै विषयमा कस्तो रणनीतिका साथ कार्य अगाडि बढाउँछ भन्ने धेरैको चासोको विषय बनेको छ । सार्वजनिक गरिएका विषयहरू एवं बैठकका एजेण्डामा निर्वाचनको समीक्षाले भने प्राथमिकता नपाएको देखिन्छ ।
केन्द्रीय कार्यसमितिको निर्णय र निर्देशन अनुसार ‘जरा अभियान २०८३’ तथा क्रियाशील सदस्यता अध्यावदिक, १५ औ महाधिवेशनको तयारी पूरा गर्ने लगायतका एजेन्डाले प्राथमिकता पाउँदा निर्वाचनको समीक्षा ओझेलमा परेको दाबी गरिएको छ । जिल्लामा पहिलो शक्तिको रूपमा रहँदै आएको काँग्रेस तेस्रो स्थानमा झर्दा र पार्टीको आन्तरिक गुटबन्दीको कारण कमजोर भएको आँकलन गरी भइरहेको अवस्थामा थोकरले कस्तो भूमिका खेल्न सक्छन् भन्ने धेरैको आशंका छ ।
थोकरले १५ औँ जिल्ला महाधिवेशन गर्ने गरी जिल्ला पार्टीको कार्यवाहक सभापतिको नेतृत्वको गर्ने अवसर पाएको धेरैको आङ्कलन छ । त्यसैको लागि थोकर पनि नेताहरूसँग तीव्र आन्तरिक छलफल र सहकार्यमा रहेको बताइन्छ ।
सङ्घीय निर्वाचनमा अघिल्लो पटक पहिलो बन्दै (कान्छाराम) निर्वाचित नै बन्दा यो पटक तेस्रो स्थानमा झरेको काँग्रेस रामेछापलाई सङ्गठित र चलायमान बनाउन केन्द्रीय प्रतिनिधि किरण गिरी समेतको समन्वय र सहकार्य भइरहेको काँग्रेस रामेछापले जनाएको हो ।

मन्थली भैशेश्वर स्थित पार्टी कार्यालय बिपी स्मृति भवनमा बस्ने बैठकमा रामेछाप जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्व जिल्ला सभापतिहरू, प्रदेश कार्यसमितिका सदस्यहरू, महासमिति सदस्यहरू महाधिवेशन प्रतिनिधिहरू, प्रदेश क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य (क) र (ख), नगर र गाउँपालिका कार्यसमितिका पदाधिकारी तथा सदस्य सबै डाकिएको छ ।
त्यस्तै पार्टी ६४ वटै वडा कार्यसमिति सभापतिहरूलाई समेत डाकिएको पार्टीका सचिवद्वय दीपक खड्का र विनोद कार्कीले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

