काँग्रेस रामेछाप जुट्यो जरा अभियानमा, जेठ २१ भित्रै सदस्यता अद्यावधिक सक्नेसहित यस्ता गर्‍यो निर्णय ?

| जेठ ८, २०८३ शुक्रबार

A A A
A A A

०८ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले पार्टीको ‘जरा अभियान’ अन्तर्गत सदस्यता अद्यावधिक र वितरणको कार्य जेठ २१ भित्रै सक्ने निर्णय गरेको छ । शुक्रवार कार्यवाहक सभापति नवराज थोकरको सभापतित्वमा पार्टी कार्यालय वीपी स्मृति भवन मन्थलीमा बसेको ‘वृहत् भेला’ (बैठक) ले पार्टीको जरा अभियानलाई सफल र उपलब्धि मूलक बनाउन पार्टीको क्रियाशील सदस्यता अद्यावधिकलाई प्राथमिकता दिएर २१ जेठ भित्र सक्ने गरी काम गर्न वडा तहमा प्रतिनिधि खटाउने निर्णय गरिएको पार्टीका सचिव विनोद कार्कीले बताए । ‘प्रतिनिधि भोलि सम्म टुङ्गो लाग्ने गरी निर्णय भएको छ’, सचिव कार्कीले भने । 

 

‘आजको बैठक जरा अभियान सफल पार्नै केन्द्रित रह्यो’, केन्द्रले तोकेको समय सीमा भित्र सदस्यता अद्यावधिक गर्ने कार्यलाई सफल पार्न सबै लाग्ने निर्णय भयो’ पार्टीका अर्का सचिव दीपक खड्काले बताए । विगतको जस्तो दिन बिताउने भन्दा पनि निश्चित समयमा निर्णय गरिएको नेताहरूको भनाई छ । ‘आजको बैठक पनि पहिले जस्तो लामो थिएन, छिटो मिठो बैठक सञ्चालन हुन थाल्यो’ ।

केन्द्रले पार्टीको संगठनलाई संगठित भएको प्रमाणित गर्दै बलियो काँग्रेस बनाउन लाग्ने निर्णय अनुसार तल्लो तह सम्म पुग्ने गरी जरा अभियान कार्यक्रम अगाडि सारेपछि रामेछापमा कार्यवाहक सभापति थोकरको नेतृत्वमा शुक्रवार देखि अभियानलाई तीव्रता दिइएको हो । ‘यो अभियानलाई सफल पार्न जिल्ला स्तरको अनुगमन तथा समन्वय समिति गठन समेत गठन गरिएको छ । जसको संयोजकमा उपसभापति लेखबहादुर कार्की बनेका छन् । 

 

पार्टी सभापति एवं पूर्व राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) तामाङ निलम्बनमा पर्दा कार्यवाहक सभापतिको जिम्मेवारीबाट पछि परेका कार्कीले थोकरको नेतृत्वलाई स्वीकार गर्दै पार्टीलाई अगाडि बढाउन पार्टीको विभिन्न तहको जिम्मेवारी सम्हालेका हुन् । उनी सुरुवातमा केही असन्तुष्ट देखिएका थिए । 
 

त्यस्तै, शुक्रवारको बैठकले यस अगाडि उपसभापति रहँदा नवराज थोकरको नेतृत्वमा रहेको जिल्ला प्रशिक्षण समितिलाई समेत पुनर्गठन गरिएको छ । उक्त समितिको संयोजक समेत उपसभापति  लेखबहादुर कार्कीलाई नै दिइएको छ । ७ सदस्यीय उक्त प्रशिक्षण समितिमा नेता झनक श्रेष्ठ, डा.सुमन कर्माचार्य, केशव महत, नारायण कुमार खड्का, घननारायण श्रेष्ठ र साङ्माला तामाङ सदस्य बनेका छन् । 

 

२१ फागुन २०८२ को प्रतिनिधि निर्वाचन पछि पहिलो पटक बसेको काँग्रेस रामेछापको बैठकले निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा भने आगामी कार्यसमिति बैठकमा निर्णय तथा छलफल गर्ने निर्णय गरेको प्रवक्ता कुमार श्रेष्ठले बताए । 

मिलन घिमिरे (बि क)
| बैशाख १५, २०८३ मंगलबार
मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार