एमाले रामेछापका प्रभावशाली नेता बस्नेत बने रास्वपा, चरम अवसरवादी भन्दै चर्चामा

| जेठ ८, २०८३ शनिबार

A A A
A A A

०९ जेठ, रामेछाप । नेकपा (एमाले‌) रामेछापका नेता एवं मन्थली नगरका पूर्व मेयर रमेश कुमार बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । उनले रास्वपाको सदस्यता लिएको स्वीकार गर्दै उचित समयमा उचित निर्णय गरेको जिकिर गरेका छन् । नागरिक तह सम्म भने बस्नेत चरम अवसरवादी रहेको भन्दै बस्नेतको व्यक्तिगत एवं राजनीतिक अवस्था बारेमा गम्भीर टिका टिप्पणी भइरहेको छ । नेता बस्नेतलाई आउँदो स्थानीय तहको निर्वाचनमा रास्वपाबाट मन्थली नगरको मेयरको उम्मेद्वार बन्न लालहित भएको आरोप लगाइएको छ । नेकपा एमाले रामेछापले आफू एमालेमा फर्किए पनि सधैँ आफूलाई हेपाहा र भूमिका विहीन बनाएपछि विद्रोह गरेको बस्नेतको जिकिर छ । 

 

केही समय अगाडि नेकपा (एकीकृत) समाजवादी (एस) को जिल्ला अध्यक्षको जिम्मेवारीमा रहँदा रहँदै नेकपा (एमाले) मै फर्किएका बस्नेतले बिहीबार अपराह्न  सामाजिक सञ्जाल फेसबुक मार्फत एक्कासि रास्वपाको सदस्यता लिएको सार्वजनिक गरेपछि चर्चामा आएका हुन्। तत्कालीन राज संस्था देखि नै विभिन्न राजनीतिक बिचार र पाटीमा आबद्धै हुँदै अवसर र जिम्मेवारी लिएको भन्दै आलोचनाको घेरा भित्र पर्दै आएका नेता बस्नेतले अन्ततः पछिल्लो पटक पुनः रवि र बालेनको नेतृत्वमा रहेको रास्वपाको सदस्यता स्वीकार गरी जनताले खोजेको परिवर्तनको पक्षमा उभिएको दाबी गरेका हुन् । 

२०५४ साल देखि नै नेकपा (एमाले) को सदस्य बनेर कट्टर कम्युनिष्ट् नेताको रूपमा उभ्याउँदै आएका बस्नेतले झण्डै तीन दशक पछि कम्युनिष्ट विचारधारा त्यागेका हुन् । आफूले रास्वपाको सदस्य अचानक लिएको र त्यो सत्य रहेको पूर्व मेयर समेत रहेका बस्नेतले रामेछाप टाइम्ससंग प्रष्ट भने । ‘बिहीबार दिउँसो २ बजे अघि सम्म मलाई पनि थाहा थिएन, त्यसपछि रास्वपाका ‘माथिल्लो तहकै एक नेता’ सँग भएको पछिल्लो गफगाफपछि सदस्यता अनलाइन भरेर लिएँ’, रामेछाप टाइम्ससंग बस्नेतले भने । 

 

गत २१ फागुनमा भएको निर्वाचनमा आफूले एमालेका उम्मेद्वार माधव प्रसाद ढुङ्गेललाई नै मत दिएको जिकिर गर्दै २१ फागुनको निर्वाचनमा आफूले पार्टीलाई धोका नदिएको तर जनताले रास्वपालाई दिएको मतलाई स्वीकार गरी आफूले पनि त्यो मतलाई कदर गर्न साथ दिने बाटोमा पुगेको तर्क नेता बस्नेतको छ । २१ फागुनमा माधव ढुङ्गेललाई नै आफूले मत दिएको जिकिर गर्दै भने ‘सालुमा खसेका मत मध्ये एमालेको ३ भोटको मेरो पनि अधिकार छ । मेरो,आमा र बुबाको ।’

 

आफूलाई अवसरवादी भन्नेहरू प्रति टिप्पणी गर्दै बस्नेतले अवसरवादी शब्दलाई धेरै नकारात्मक रूपमा मात्रै लिन नहुने बरु यसलाई अवसर चिन्न सक्ने, समयअनुसार निर्णय लिन सक्ने र परिस्थितिलाई प्रगतिका लागि उपयोग गर्न सक्ने गरी बुझाउन आवश्यक रहेको उनको तर्क छ । 

 

मन्थलीका पूर्व मेयर बस्नेतले पार्टीको सदस्यता लिएको बारेमा रास्वपाबाट प्रतिनिधि सभाका सांसद्का बनेका डा. कृष्णहरि बुढाथोकीका स्वकीय सचिव एवं रास्वपा प्रदेश सदस्य समेत रहेका युवा विपेश खत्रीले खुसी व्यक्त गर्दै घुमाउरो पारामा बस्नेतलाई स्वागत भनेका छन् । 

मिलन घिमिरे (बि क)
| बैशाख १५, २०८३ मंगलबार
मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार