रास्वपा प्रवेशपछि पुराना दल प्रति बस्नेतको आक्रोश : जनताको पक्षमा काम गर्नै नदिने रोक्ने, छेक्ने
१० जेठ, रामेछाप । केही दिन अगाडि मात्रै ११ औँ दलको रूपमा रास्वपा प्रवेश गरेका मन्थली नगरपालिकाका पूर्व मेयर रमेश कुमार बस्नेतले नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रति गम्भीर आरोप लगाएका छन् । उनले काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले जनताको पक्षमा काम गर्न रोक लगाउने गरेको बताएका हुन् । उनले आफूलाई रास्वपामा पनि पद खानालाई नै आएको हो कि भनेर आशंका र टिका टिप्पणी भएको भन्दै भने मलाई पद चाहिएको छैन, काम गर्नु पर्यो ।
आइतबार रास्वपा मन्थली नगरपालिका १ र २ को वडा अधिवेशनलाई तीनलाल पार्कमा ‘पहिलो सम्बोधन’ गर्दै भने ‘जनताको मतबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई कुनै पनि काम गर्न नदिने, छेक्ने काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको चरित्रले समस्या भयो ।’
रास्वपाको सरकार गठन भएको ४०–५० दिनमै नागरिकले अनुभूति गर्ने गरी काम भएको जिकिर गर्दै ‘५ वर्ष रातदिन यो सरकारले काम गर्नु पर्छ।’ युवाहरूले समाज परिवर्तन गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका बस्नेतले जनताले खोजेको परिवर्तन दिन सक्नु पर्ने दोहोर्याए । आफूले जनप्रतिनिधिको रूपमा काम गर्न तत्कालीन वडा अध्यक्षहरूले अवरोध गर्ने ‘कसमै खाएर’ आएका थिए तर बजेट दिएर मिलाए भने ।’
तीनलाल पार्क, मन्थली अस्पताल जस्ता निर्माणको काम आफ्नो कार्यकालमा गरेको र नगरपालिकालाई चलायमान बनाउन शिक्षा सुधारको काम गरेको उनको जिकिर छ । रास्वपामा आफू प्रवेश गर्दा रास्वपाकै नेताहरू खुसी नदेखिएको भन्दै उनले भने ‘रास्वपाकै केही साथीहरूले बस्नेत चरी उड्न लाग्यो, उडेकै राम्रो भने’ भन्दै उड्न पाएत राम्रो भुईँमै छु’ भने ।

