सांसद बुढाथोकीसँग जनप्रतिनिधिको एकैस्वरः भने ‘तपाई हाम्रो अभिभावक हो’, डम्पिङ साइड निर्माणसहित ११ बुँदे यस्ता माग राखे (सूचीसहित)

| जेठ ११, २०८३ सोमबार

A A A
A A A

११ जेठ, रामेछाप । २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट निर्वाचित सांसद डा.कृष्णहरि बुढाथोकीसँग रामेछापका स्थानीय तहका जनप्रतिनिधिहरूले माग र अपेक्षा सुनाएका छन् । राजनीतिक दल भन्दा जनता र जिल्लाको विकास नै आफूहरूको लक्ष्य रहेको भन्दै एक स्वर गरेका यहाँका स्थानीय तहका प्रमुख, अध्यक्षहरूले एक आपसमा मिलेर सहकार्य र सहयोग गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता समेत स्मरण गराएका छन् । 

 

२१ फागुनको निर्वाचनबाट निर्वाचित सांसदसँग पहिलो पटक औपचारिक कार्यक्रममा भेटघाट गर्दै शनिवार जिल्ला समन्वय समितिको सभा हलबाट रामेछापका जनप्रतिनिधिले ‘हामी सबै यहाँको विकास होस् भन्ने नै ध्येयका साथ लागि परेका छौँ, यसमा तपाईँको पनि साथ र सहयोगको पूर्ण अपेक्षा छ सबैले भन्नु भयो’, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले बताइन् । 

सांसद एवं अर्थ समितिका सभापति समेत बनी सकेका डा.बुढाथोकीको टिमबाट आयोजना गरिएको ‘जनप्रतिनिधिहरू बिच रामेछाप विकास अन्तर्क्रिया’ नाम दिइएको उक्त छलफलमा जिल्लाको गोकुलगंगा गाउँपालिका बाहेक अन्य सबै पालिकाका अध्यक्ष एवं प्रमुखहरूको उपस्थिति रहेको थियो । 

 

जिल्ला समन्वय समिति प्रमुखसहित ८ वटै स्थानीय तहका जनप्रतिनिधि सहभागी कार्यक्रममा संयुक्त रूपमा समन्वय समितिले जिल्लाको विकास निर्माणमा सांसद बुढाथोकीलाई माग पत्र बुझाएको छ । भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्यमा समेत टेवा पुर्‍याउने गरी आगामी बजेटको व्यवस्था गर्न यहाँका जनप्रतिनिधिहरूले एकमत देखाएको समन्वय उपप्रमुख एवं प्रवक्ता प्रेमबहादुर थापाले बताए । ‘विकास बजेटसँगै शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई पनि प्राथमिकता दिएर बजेट सुनिश्चित गरिदिन सबै जनप्रतिनिधिहरूको एक मत देखियो ।’

बैठकमा सहभागीहरूका अनुसार सुनापति र दोरम्बा शैलुङ् गाउँपालिकाका अध्यक्षहरूले सांसद डा.बुढाथोकीले आफूको अभिभावकी जिम्मेवारी वहन गर्नुको साटो आवश्यक परेको बेलामा सम्पर्क समेत गर्न मुस्किल परेको भन्दै सांसद बुढाथोकीको ध्यानाकर्षण गराएका थिए । यहाँका स्थानीय तहमा सञ्चालन भइरहेका आयोजनाहरूको अनुगमन, निरीक्षण एवं निगरानी समेतको जिम्मेवारी निर्वाह गर्दै आएको समन्वयले यो सांसद बुढाथोकीसँगको भेटमा पनि जिम्मेवारी निर्वाह गर्दै संयुक्त रूपमा ८ वटै पालिकाका ११ बुँदा माग पत्र बुझाएको छ । 

 

सेलेघाट–रामेछाप–सालु – देउराली–साँगुटार सडक, सालु–कविलास–कुकुरकाट्टे भन्ज्याङ–रामेछाप वडा नं १ हुँदै लिखु तामाकोशी–३ टपरे डाँडा– गोठगाँउ हुँदै लिखु खोला–सिरिसे जाने बाटो स्तरोन्नति, गुन्सी–गाल्पा–भटौली–कुनौरी पुल–सोलमारी–डुम्री खर्क हुँदै पुष्पलाल जन्मेको ठाउँ भएर कोलन्जोर सम्म जोड्ने सडक सञ्चालनको माग समेत गरेको छ । 

 

समन्वय समितिले मन्थली बजारको फोहोर व्यवस्थापन गर्न नगरपालिकाकै वडा नं ६ को मरिण डाइभर्सन माथि फोहोर प्रशोधन केन्द्र स्थापना गर्न संघीय सरकार सँग रु ३ करोड माग गर्दै सांसद बुढाथोकीको ध्यानाकर्षण गराएको समन्वय प्रमुख चिना खड्का (कार्की) ले बताइन् । 

 

त्यस्तै, गाइखुरा पुल हुँदै एयरपोर्ट–मन्थली पुल सम्म तामाकोशी पर्यटन कोरिडोर र खुर्कोट देखि रामेछाप नगरपालिकाको कोलन्जोरघाट सम्म सुनकोशी कोरिडोर निर्माण गर्न माग गरिएको सुनाउँदै समन्वय प्रमुख खड्काले भनिन् ‘शिवालय–देउराली–बाम्ती हुँदै सोलु सम्मको सडक कालोपत्रे गर्नु पर्छ भनेर पालिका र हामीले भन्यौँ ।’

त्यस्तै, खाँडादेवी–४ पकरबास–स्याउली पोखरी हुँदै कटरहरबोट–अमलबोटे छात्रावास हुँदै धारा पानी सम्मको सडक, कुरनथली–रायगाँउ सडक कालो पत्र गर्न माग गरिएको बताइएको छ । 

 

लाम्सीङ्ग–डाँडामा नेपालकै अग्लो मन्दिर निर्माण गर्न सांसद बुढाथोकीको ध्यानाकर्षण गराइएको जानकारी गराउँदै समन्वय प्रवक्ता थापाले वृहत् रामपुर खानेपानी आयोजना र रणजोर खोला पहिरो तथा बस्ती संरक्षण गर्न गम्भीर भएर लागि दिन अपिल गरेको उनको भनाई छ। 

 

निर्वाचित भएपछि पहिलो पटक यहाँका सबै जनप्रतिनिधिलाई एउटै मञ्चबाट सम्बोधन गरेका सांसद एवं अर्थ समितिका सभापति बुढाथोकीले सदनको पनि ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउँदै आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने वचन दिए । आफूले स्थानीय तहका जनप्रतिनिधिबाट धेरै विषयहरू सिकिरहेको छु भनेका सांसद बुढाथोकीले ‘हामी जनप्रतिनिधि जनताको सेवक हौँ। हामी बिचको प्रभावकारी समन्वयबाट जिल्लाको समृद्धि एवं सुशासनमा महत्त्वपूर्ण भूमिका पुग्छ’ भनेका छन् । 

मिलन घिमिरे (बि क)
| बैशाख १५, २०८३ मंगलबार