सुशासन पत्रकारिता पुरस्कारबाट रामेछापका युवराज श्रेष्ठ सम्मानित
तस्बिर स्रोत कुमार श्रेष्ठ
१५ जेठ, रामेछाप । रामेछापका पत्रकार युवराज श्रेष्ठ ‘सुशासन पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । उनलाई १८ औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले सम्मान गरेको हो । शुक्रवार देशभर १८ औँ गणतन्त्र दिवस भव्यताको साथ मनाइँदै छ ।
गणतन्त्र दिवस २०८३ को अवसरमा शुक्रवार मकवानपुरको हेडौंडामा एक विशेष कार्यक्रमका बिच प्रदेशका विभिन्न पत्रकारहरू सम्मानित हुँदा रामेछापका श्रेष्ठ पनि सम्मानित भएको राष्ट्रिय फोटो पत्रकार समूह, बागमती प्रदेशका सचिव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी मन्थलीबाट प्रसारित रेडियो झंकारसहित पालिका आवाज साप्ताहिक र अन्य अनलाइनमा लेख्दै आएका छन् ।
प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा विगत देखि नै विभिन्न पत्रकार सम्मान कार्यक्रम गर्दै आएको छ ।
त्यस्तै, खोज पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका नेता पोष्ट राज अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट सुनिता विष्ट, प्रदेश संस्थागत विकास पत्रकारिता पुरस्कारबाट रामहरि कार्की लगाएका पत्रकारहरू सम्मानित भएका प्रेस युनियन रामेछापका उपाध्यक्ष समेत रहेका कुमार श्रेष्ठले जानकारी दिए ।

