रास्वपा रामेछापले ७ स्थानीय तहको अधिवेशन सक्यो, फर्पु र सुकाजोरसहित ४ वडामा नेतृत्व गर्ने कोही नपाएकै हो ?
१६ जेठ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापको आइतबार सम्म ७ स्थानीय तहको प्रथम अधिवेशन सम्पन्न गरेको छ । आज आइतबार जिल्ला सदरमुकाम मन्थलीमा यस अगाडि कै नगर सभापति प्रविन खड्काको नेतृत्वमा १५ सदस्यीय समिति पुनर्गठन गर्दै ७ पालिकाको नेतृत्व टुङ्गो लगाएको हो।
स्थापना भएर पहिलो अधिवेशन सम्पन्न गरी सक्दा समेत आफूलाई नयाँ दलको रूपमा भजाइ रहेको उक्त पार्टी प्रति विभिन्न कोणबाट प्रवेश गर्नेहरूको संख्या बाक्लो छ । विगत कै नेता र नेतृत्व दोहोरी रहेको अवस्थामा पनि पार्टीमा भित्रिनेको संख्या बढेको कारण पनि रास्वपाका नेता कार्यकर्ता हौसिएका छन् । यद्दयपी प्रवेश गर्नेहरूलाई पनि रास्वपाले विभिन्न कोणबाट निगरानीमा राखेकाले प्रवेश गर्ने बित्तिकै सो पार्टीको जिम्मेवारी भने नेतृत्व तह कै हिसाबले पाउन समय लाग्ने रास्वपाका नेताहरूको दाबी छ । ‘एक नेताले भने पार्टीको जान्नेलाई छान्ने नीति अनुसार सबै पक्षले साथ दिएका र नेतृत्व गर्छु भन्नेहरूलाई कार्यकर्ता तहबाट स्वीकार भए सम्भव छ’ । कसैले दाबी गरेजस्तो प्रवेश गर्ने बित्तिकै कुनै पद दिने या नदिने भन्ने भाष्य भने त्यहाँ लागू नहुने ती नेताको दाबी छ ।

सो कुरालाई ७ पालिका स्तरको अधिवेशन सम्पन्न हुँदा सम्मको अवस्थाले पनि प्रमाणित गरेको छ । किनकि, रास्वपामा भित्रिएका चर्चित अनुहारहरू समिति भित्र नअटाउँदा पुरानै समिति हेरफेर मात्रै गरेर यो पटक पालिका र वडा समितिलाई पूर्णता दोहोरियो । जिम्मेवारी लिन र नेतृत्व गर्न सक्ने अन्य पार्टी परित्याग गरी सदस्यता लिएकाहरू क्षमता भए पनि यो पटक रास्वपाको नेतृत्व तहको जिम्मेवारीमा भिज्न पाएका छैन । उनीहरूलाई रास्वपामा विगत देखि सक्रिय रहेका एवं संस्थापन भनिएकाहरूले विविध कारणसहित छेकबार नगरेका हैनन् ।
हाल सम्म मन्थली नगरपालिका सहित लिखु तामाकोशी गाउँपालिकामा राजकुमार थापा, सुनापति गाउँपालिकामा शैलेन्द्र पाण्डे, खाँडादेवी गाउँपालिकामा नीराजन केसी, दोरम्बा शैलुङ्ग गाउँपालिकामा आसिश नगरकोटी (श्रेष्ठ), उमाकुण्ड गाउँपालिकामा नवराज थापा र गोकुलगंगा गाउँपालिकामा राजकुमार घिमिरेले पालिका स्तरको नेतृत्व गर्ने अवसर पाएका छन् । उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा २१ फागुन २०८२ को निर्वाचन अगाडि नै अधिवेशन सकेको रास्वपा रामेछापले अन्तिम संगठन विस्तार गर्ने कसरत आउँदो बुधवार रामेछाप नगरपालिकामा गर्ने छ ।
त्यसको लागि तयारी भइरहेको बताउँदै जिल्ला पार्टी सभापति रमेश रायमाझीले रामेछाप टाइम्ससंग भने ‘हाम्रो २० गते रामेछाप नगरको अधिवेशन पछि जिल्ला अधिवेशनको तयारी थालि हाल्छौँ’ ।
रास्वपाले रामेछापमा पालिका स्तरमा १ सभापति सहित ९ जना प्रत्यक्ष र दुई जना सभापतिले मनोनीत गर्न पाउने गरी समिति निर्माण गरेको छ । त्यस्तै, नगरपालिकामा १३ प्रत्यक्ष र २ जना मनोनीत गरी १५ सदस्यीय समिति गठन गरिएको उपसभापति मोहन कार्कीले बताए ।
जिल्ला स्तरमा पनि वर्तमान कार्यसमिति ले नै निरन्तरता पाउने चर्चाका सुरु भइसकेको छ । यद्दयपी सभापति भन्दा बाहेकका केही पदमा भने नयाँ अनुहारले ठाउँ पाउन सक्ने आंकलन धेरैको छ ।
७ पालिका अधिवेशन सकिसक्दा रास्वपालाई रामेछाप नगरपालिका ५, ७ र ८ र गोकुलगंगा गाउँपालिकाको वडा नं ६, फर्पुमा वडा अधिवेशन सक्न चुनौती बनेको त्यहाँका अन्य राजनीतिक दलले टिप्पणी गरेका छन् । गोकुलगंगाको फर्पु र रामेछापको सुकाजोरमा गत निर्वाचनमा रास्वपाले कमजोर मत पाएका वडा पनि हुन् । त्यसैले विपक्षी दलका नेताहरूले त्यहाँ सो पार्टीको नेतृत्व गर्ने नेता नपाउँदा वडा अधिवेशन हुन नसकेको जिकिर गर्दै आएका छन् । यस बारेमा रास्वपाले भने कुनै विषय सार्वजनिक गरेको छैन । ६० वडाको अधिवेशन सम्पन्न भइसकेर पालिका स्तर सम्म अधिवेशन सम्पन्न गरेको उसले यी ४ वटा वडामा किन नगरिएको भन्ने केही भनेको छैन । बाँकी रहेका वडाहरू पनि तत्कालै अधिवेशन सक्ने उसको भनाई छ । सबै तस्बिरको स्रोत समाजिक संजाल ।
