आज रास्वपा रामेछापको प्रथम अधिवेशन : निर्वाचन हुने पक्का, सभापतिको लागि रायमाझीसँग समीक्षा र राजु भिड्दै
२३ जेठ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापको आज प्रथम ऐतिहासिक जिल्ला अधिवेशन हुँदै छ । पहिलो जिल्ला अधिवेशनबाटै नयाँ नेतृत्व लिन नेताहरू बिच रस्साकस्सी हुँदा निर्वाचनै हुने सम्भावना बढेको स्रोतले जनाएको छ ।
शनिवार मन्थली तीनलाल पार्कमा मद्यन्न १२ बजे सांसद एवं अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले उद्घाटन गर्ने प्रथम अधिवेशनको सबै तयारी सकिएको रास्वपा रामेछापको भनाई छ । यद्यपि प्रथम अधिवेशनमा उद्घाटन/औपचारिक कार्यक्रममा पत्रकारसहित अन्य राजनीतिक दललाई निमन्त्रणा समेत नगरिएको बुझिएको छ ।
जिल्लाको नेतृत्व हत्याउन नेताहरू बिच केही दिन यता रस्साकस्सी सहित पटक–पटक छलफल हुँदै आए पनि गए राति ४ बजे सम्म पनि कुरा नमिले पछि निर्वाचन हुने पक्का, पक्की भएको नेतृ समीक्षा श्रेष्ठले रामेछाप टाइम्सलाई बताइन् । उनले भनिन् ‘राति पनि ४ बजे सम्म छलफलमा बस्यौँ तर कुरा मिलेन आजै निर्वाचन मार्फत टुङ्गो लाग्छ ।’
सभापतिको लागि वर्तमान सभापति रमेश रायमाझीसहित संस्थापक सभापति राजु बुढाथोकी र समीक्षा श्रेष्ठले चुनावी प्रतिस्पर्धा नै गरेर भए पनि पछि नहट्ने भए पछि निर्वाचन हुने निश्चित बनेको हो । ‘हामी तीन जनाले मुख खोलेका हौँ अरू पनि हुन सक्छन्’ नेतृ श्रेष्ठले भनिन् ।

पहिलो जिल्ला अधिवेशन र वर्तमान राजनीतिक परिवेशलाई हेर्दा सभापति पदकै लागि निर्वाचन उपयुक्त नहुने भन्दै उपसभापति मोहन कार्की निर्वाचन भए आफू न्यूटल बस्ने तर्क गर्दै आएका छन् । जान्नेलाई छान्ने पार्टीको नीति अनुसार नेताहरूले कार्यकर्ता माझ एजेन्डा प्रस्तुत गर्ने र ती एजेन्डा अनुसार कार्यकर्ताले नेता छान्ने योजना सुनाउँदै आएका उपसभापति कार्कीलाई पछाडि राख्दै नेताहरूले सभापति बन्न छुट्टै दौड सुरु गरेपछि उनी पछि पर्ने पक्का जस्तै भएको हो । यद्दयपी उनले प्रस्ट रूपमा निर्वाचन भए आफू तटस्थ बस्ने र पदको लोभी नभएको जिकिर गर्दै आएको धारणा राखेका छन् । केही समय अगाडि भने उनी जिल्ला सभापतिमा आफ्नो दाबी रहने बताउँदै आएका थिए ।
त्यस्तै जिल्ला सचिव पदमा पनि नेताहरू बिच दाबी बढेको छ । हालका सचिव दिल बहादुर थापा (दिनेश), को भूमिका बारेमा प्रश्न उठाउँदै नेताहरूले सचिव फेर्नु पर्ने आवाज चर्को पारेपछि लिखु तामाकोशीकै इबेन्द्र दाहाल र उमाकुण्ड गाउँपालिकाका कल्याण खड्का पनि सचिवमा प्रतिस्पर्धा गर्न लागेको बुझिएको छ । अन्य पदबारेमा त्यस्तो रस्साकस्सी नदेखिए पनि सभापति र सचिवमा आकांक्षित बढ्दा निर्वाचनको प्रकृिया अघि बढ्ने निश्चित बनेको हो ।
उद्घाटन सत्रबारे नेताहरू नै अनविज्ञ
विशेष गरी जिल्ला अधिवेशन उद्घाटन सत्रमा अन्य राजनीतिक दलसहित पत्रकार लगाएलाई औपचारिक निमन्त्रणा गरेर शुभकामना आदान प्रदान गर्ने पुराना राजनीतिक दलहरूको परि पार्टी रहे पनि रास्वपा रामेछापले भने ‘बालेन शैली’ लाई नै पछ्याएको रूपमा बुझिएको छ । किनकि, रास्वपा रामेछापले न, अन्य राजनीतिक दललाई डाकेको छ न पत्रकारलाई । जिल्ला अधिवेशन तयारी गर्न गठित विभिन्न उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी बाँडफाँड गरे पनि कार्यक्रमको उद्घाटन सत्र र अन्य तयारी बारेमा नेताहरू नै अनविज्ञ रहेको बुझिएको हो ।

रामेछाप टाइम्ससंगको कुराकानीमा नेतृ एवं कोषाध्यक्ष समीक्षा श्रेष्ठले भनिन् ‘को–कोलाई बोलाइयो भन्ने विषयमा थाहा नै भएन । डाक्नु पर्ने हो, तर तयारी समितिले के गर्यो भन्ने बारेमा अहिले सम्म थाहा भएन।’ नेतृत्व मिलाउनको लागि निरन्तर छलफलमा व्यस्त हुँदा उद्घाटन सत्रको तयारी बारेमा काम गर्न नपाएको सुनाउँदै उनले थपिन् ‘अब कार्यक्रम स्थलमा गएर प्रशासन, पत्रकार सबैलाई खबर गर्छु ।’
आफूहरू सहमतिमै पार्टीको नेतृत्व टुङ्गो लगाउन लागी परेको सुनाउँदै शुक्रवार साँझ सभापति रमेश रायमाझीले पनि कसैलाई खबर गर्न/डाक्न समय नभएको बताए ।
पुराना दलहरूलाई निरन्तर गाली र प्रश्न गर्दै उदाएको पार्टी आफूहरूलाई युवा समेत दाबी गर्दै आएको देखिन्छ तर ऐतिहासिक दिनलाई फरक रोचक बनाउने पक्षमा भने ध्यान नपुर्याई नेतृत्वकै लागि तछाड् मछाड् गर्दा विधि र संस्कार भने पूरै भुलेको देखियो ।
