रास्वपा रामेछापको नेतृत्व सहमतिबाटै टुङ्गो लगाउनु पर्ने कार्यकर्ताको माग, आकंक्षीहरु नमिले तेस्रो मान्छेलाई नेतृत्व दिने संस्थापक सभापतिको चेतावनी

अधिवेशनमा पत्रकार नगएपछि रास्वपा सभापति रायमाझीले भने ‘दुई तिहाइ बहुमतको पार्टीको अधिवेशनमा पत्रकार नआउने’

| जेठ २३, २०८३ शनिबार

तस्बिर स्रोत राजकुमार थापा ।
A A A
A A A

२३ जेठ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको जारी प्रथम अधिवेशन उद्घाटन सत्रमा नेता कार्यकर्ताहरूले सहमतिबाटै नेतृत्व टुङ्गो लगाउनु पर्ने मागले व्यापकता पाएको छ । निर्वाचन गरेर जाँदा पार्टी फुट्न सक्ने र गुटको रूपमा विकास हुने भएकाले सहमतीयै नेतृत्व टुङ्गो लगाउनु पर्नेमा कार्यकर्ताले जोड् दिएका हुन् । यो सँगै निर्वाचन हुने सम्भावना कमजोर बनेको रूपमा अर्थ्याइएको छ ।

 

गए राति अबेर सम्म पनि सहमति हुन नसके पछि निर्वाचनको प्रक्रिया मार्फतै जिल्लाको नेतृत्व टुङ्गो लाग्ने स्थिति निर्माण बनेको अवस्थामा शनिवार दिउँसो २ बजेदेखि सुरु भएको उद्घाटन सत्रमा बोल्ने आकाङ्क्षी प्रतिस्पर्धिहरुले समेत सहमतिमै जिल्ला समिति बनाउनु पर्नेमा जोड् दिँदै धारणा राखेका हुन् । यद्यपि जिल्ला सभापतिको लागि आकंक्षा व्यक्त गरेका वर्तमान सभापति रमेश रायमाझीसहित, संस्थापक सभापति राजु बुढाथोकी, कोषाध्यक्ष समीक्षा श्रेष्ठ र उपसभापति मोहन कार्कीले भने कार्यकर्ताहरूको चहाना अनुसारै अगाडि बढ्ने बचन व्यक्त गरे । 

 

रामेछाप टाइम्सले शनिवार बिहान रास्वपा रामेछापको नेतृत्वको लागि निर्वाचन हुन्छ भनेर समाचार लेखिएको समाचारलाई उल्लेख गरेका संस्थापक सभापति बुढाथोकीले भने ‘समाचार त सार्वजनिक भएर तर निर्वाचन भए पार्टी फुट्न सक्छ हामी मिलेर जानु नै अहिलेको आवश्यकता हो ।’ उनले पार्टीको बिरुवा आफूले रोपेको जिकिर गर्दै ‘त्यो बिरुवालाई न निमोठी दिनुस् भने ।’ उनले आकंक्षीहरु मिलेर जान नसके तेस्रो पक्षलाई सभापति बनाउने चेतावनी समेत दिए । ‘हामी पनि हातमा दही जमाएर बसेका छैनौँ सबै जना मिलौँ नमिले तेस्रो पक्ष आउन पनि सक्छ।’

 

त्यस्तै, सभापतिको लागी आकंक्षा राखेका उपसभापति कार्की, कोषाध्यक्ष नेतृ श्रेष्ठले कार्यकर्ता तहको मागलाई सम्बोधन हुने गरी समिति बनाउनु पर्छ भन्ने धारणा राखे । 

कार्यक्रममा प्रमुख अतिथि डा.कृष्णहरि बुढाथोकीसहित रास्वपा प्रदेश समिति सदस्य दिनेश खत्री, नेता दिनेश सुवेदी लगायतले पनि सहमति मै नेतृत्व बनाउनु पर्नेमा जोड् दिए । सांसद बुढाथोकीले अहिले पार्टी नेतृत्वको लागि निर्वाचन गरेर जाँदा पछि स्थानीय र प्रदेशको निर्वाचनमा असर पर्न सक्ने आशङ्का व्यक्त गर्दै भने ‘३६५ पद गुमाउन सक्छौँ त्यसैले एउटा पदमा मिल्नु पर्छ।’

 

रास्वपा सभापति रमेश रायमाझीले पनि कार्यकर्ताको माग र चाहनालाई पुरा गर्ने बचन व्यक्त गर्दै भने ‘केही समय पर्खौँ मिलाउने प्रयास मै छौँ ।’ उनले रास्वपाको जिल्ला अधिवेशनमा पत्रकारहरूको उपस्थिति न्यून भएकोमा टिप्पणी गर्दै भने ‘यत्रो दुई तिहाइ बहुमतको सरकारको पार्टीको अधिवेशन हुँदा यहाँका पत्रकार किन देखिएनन् ।’

 

उनले पत्रकारहरूले आफ्नो पार्टीलाई पर्दा पछाडि राख्ने प्रयास गरेको आरोप लगाए । शनिवार बिहान सम्म रास्वपाले जिल्ला अधिवेशन उद्घाटन सत्रमा कसैलाई निमन्त्रणा नगरिएको विषय रामेछाप टाइम्सले सार्वजनिक गरेको विषयमा इङ्गित गर्दै भने ‘समाचार लेख्न किन निमन्त्रणा चाहियो’ ।