‘यो वर्ष रामेछापमा १५ हजार बिरुवा बाँड्दै डिभिजन वन’

| असार २२, २०८३ सोमबार

चिसापानी सब डिभिजन वनको नर्सरीमा तयारी विरुवा । तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स ।
A A A
A A A

२२ असार, रामेछाप । डिभिजन वन कार्यालय रामेछापले सोमबार देखि विभिन्न जातका बिरुवा वितरण सुरु गरेको छ । यो वर्ष वन कार्यालय रामेछापले स्थानीयहरूबाट माग भएका फलफूल तथा छोटो समयमा उत्पादन दिने प्रजातिका करिब १५ हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको बताइएको छ । 

 

मौसममा आएको परिवर्तनका कारण तोकिएको समय भन्दा केही ढिला गरी सोमबारबाट आँप, लिची, अम्बक, कटहर, कागती लगायतका फलफूलका बिरुवा वितरण सुरु गरेको डिभिजन वन कार्यालय अन्तर्गतको चिसापानी सब डिभिजन वन कार्यालय रामेछापले यो सिजन भरिमा फलफूल र स–साना सजावट समेतका गरी १५ हजारको हाराहारीमा बिरुवा वितरण गर्ने योजना रहेको चिसापानी सब डिभिजन वनका कार्यालय प्रमुख सहयोग क्षेत्रीले रामेछाप टाइम्सलाई बताए । उनका अनुसार असार १५ अगाडि नै बिरुवा वितरण गर्ने योजना रहे पनि मन्थली आसपास पानी कम परेपछि ढिला गरी बिरुवा वितरण गरिएको हो । 

विशेष गरी वन विस्तार गर्ने उद्देश्य बोकेको डिभिजन वन कार्यालयले रामेछाप बजारमा रहेको कार्यालय परिसरको नर्सरीमा उत्पादन गरिएका करिब ५० हजार र चिसापानी सब डिभिजन वन मन्थलीबाट ५० हजार गरी कूल एक लाख बिरुवा उत्पादन गरी विभिन्न समयमा वितरण निरन्तर भइरहेको जानकारी दिँदै सब डिभिजन प्रमुख क्षेत्रीले रामेछाप टाइम्ससंग भने ‘यो पटक मन्थली, रामेछाप र खाँडादेवी गाउँपालिकालाई केन्द्रित गरी बिरुवा वितरण गरेका हौँ।’

लौठसल्ला, खयर, रक्त चन्दन जस्ता बहुमूल्य र ठुला रुखका बिरुवा पनि आवश्यकता अनुसार वितरण भइरहेको बताउँदै स्थानीयबाट फलफूल जातका बिरुवाको मागमा बढी भएकाले मौसम अनुसार वितरण गरिएको उनको भनाई छ । कार्यालयले विगत देखि नै तराइका विभिन्न नर्सरी फर्मले उत्पादन गरेका फलफूलका बिरुवा खरिद गरी निःशुल्क वितरण गर्दै आएको छ ।

 

विगतका वर्षमा बाँडिएका फलफूलका बिरुवाले उत्पादन दिन थालेपछि हौसिएका किसानले यो वर्ष पनि अत्यधिक मात्रामा फलफूलका बिरुवा माग गरेकाले कार्यालयको बजेट अनुसार बिरुवा वितरणलाई निरन्तरता दिइएको वन कार्यालय रामेछापका प्रमुख उमा शंकर प्रसाद जयसवालले रामेछाप टाइम्सलाई बताए ।