मन्थलीमा २५ युवाले सिके ड्राइभिङ, कार्यालय प्रमुख घिमिरेले भने ‘हामीले उत्कृष्ट काम गर्‍यौँ’

| असार २४, २०८३ बुधबार

A A A
A A A

२४ असार, रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय रामेछापले सञ्चालन गरेको २० दिने हलुका सवारी चालक (चार प्राङ्ग्रे) तालिम सम्पन्न भएको छ । तालिम लिएका २५ जना प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरी तालिमको समापन गरिएको हो । तालिम समापनमा बोल्दै कार्यालय प्रमुख खेमराज घिमिरेले आफूहरूले उत्कृष्ट काम गर्न सफल भएको दाबी गरे ।  

 

‘औद्योगिक वातावरण सुधार: दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित बोटे, माझी, हायु, मुसहर र वन करिया समुदायलाई स्वरोजगार बनाउने प्रदेश सरकारको योजना अनुसार सञ्चालित २० दिने तालिम गएको असार ५ गते देखि सुरु भएको थियो । अधिकांश माझी जातिका युवाहरूको सहभागिता रहेको तालिम लिएकाहरूलाई खुर्कोट स्थित यातायात कार्यालयमा ट्रायलमा समेत सहभागी गराइएको प्रशिक्षक लेखबहादुर माझीले बताए । उनका अनुसार दुई जनाले लाइसेन्स लिन सफल भएका छन् । 

 

उद्योग वाणिज्य कार्यालय मन्थलीको सभा हलमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र प्रदान गर्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले समृद्ध नगर बनाउने लक्ष्य अनुसार यस्ता तालिम महत्त्वपूर्ण हुने धारणा राखे । उनले भने ‘तपाईँहरू उत्पादनशील हुनु पर्छ, तपाईँहरू स्वरोजगार बन्नु भयो भने नगर समृद्ध बन्छ ।’ नगरपालिकाले समेत समन्वय गरी सञ्चालित उक्त तालिममा सिकेको सिपलाई सफल तरिकाले कार्यान्वयन गर्न जोड् दिएका नगर प्रमुख श्रेष्ठले स्वरोजगार बनी आत्मनिर्भर बन्न समेत सुझाए ।

 

त्यस्तै, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले युवाहरूलाई विभिन्न क्षमता विकासको तालिम आवश्यक रहेको दर्साउँदै प्रदेश सरकार अन्तर्गतको वाणिज्य कार्यालयले आगामी दिनमा ठुला सवारी र वर्कसप सञ्चालनका तालिम सञ्चालन गरिदिन आग्रह गरे । 

तालिम संचलान गर्न सहजीकरणको भूमिका समेत निर्वाह गरेको माझी उत्थान संघका नेता एवं आदिवासी जनजाति महासंघ रामेछापका अध्यक्ष श्रीबहादुर माझीले कार्यालयहरूले सञ्चालन गर्ने तालिम समयमै सञ्चालन गर्न आवश्यक रहेकोमा जोड् दिए । उनले माझी र हायु जातिहरू राज्यले प्रदान गर्ने सेवा सुविधा लिनको लागि व्यक्तिगत प्रवृत्ति बढी हाबी भएकोमा चिन्ता व्यक्त गरे । ‘हामी एकले पाएको सूचना अरूलाई बाँड्न समेत सक्दैनौ’ भन्दै असन्तुष्ट देखिए । 

 

वाणिज्य कार्यालयका प्रमुख खेमराज घिमिरेले यो वर्ष मात्रै ७५ लाख बराबरको विभिन्न तालिम सञ्चालन गरिएको जानकारी दिए । उनले भने ‘हामीले यो वर्ष प्रदेशका अन्य जिल्लाका कार्यालय भन्दा रामेछाप राम्रो छ’ । होमस्टे सञ्चालन, बारिष्टा सहित विभिन्न तालिम सञ्चालन गरिएको सुनाउँदै भने थपे ‘यो तालिमले धेरै फाइदा पुर्‍याएको हामीले महसुस् गरेका छौँ ।’

 

प्रदेशका अन्य कार्यालयहरू भन्दा उत्कृष्ट कार्य कौशल गरिएको तर्क र दाबी प्रस्तुत गरेका प्रमुख घिमिरेले आफूहरूले राम्रो काम गरेकै कारण अन्य जिल्लामा रहेका कार्यालयहरूको बजेट कटौतीमा पर्दा आफूहरूको विगतकै बजेटलाई निरन्तरता दिइएको जिकिर गरे । जिकिर गर्दै भने ‘यदि हामीले अरूले जस्तो बजेट खर्चै गर्न नसकेको भए हाम्रो पनि बजेट काटिन्थ्यो तर हाम्रो काटिएको छैन ।

मिलन घिमिरे (बि क)
| असार २२, २०८३ सोमबार