उज्यालो नेपाल पार्टी रामेछाप पुर्नगठनः अध्यक्षमा चिना लामा, सचिवमा दोङ

| असोज १६, २०८३ शुक्रबार

A A A
A A A

१६ असोज, रामेछाप । उज्यालो नेपाल पार्टी रामेछापले जिल्लाको नेतृत्व पुनर्गठन गरेको छ । यस अगाडि ७ पुस, २०८२ मा अन्जान घिसिङलाई जिल्ला संयोजक बनाउँदै जिल्ला कमिटी बनाएको थियो । 

 

जिल्लामा सङ्गठनको नेतृत्व बनाएको ७ महिना पछि चिना लामाको अध्यक्षमा शुक्रवार ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । उज्यालो नेपाल पार्टीका केन्द्र अध्यक्ष कुलमान घिसिङ, बागमती प्रदेशका अध्यक्ष तथा पदाधिकारी, रामेछाप जिल्लाका ८ वटै स्थानीय तहका अध्यक्ष र कार्यकर्ताहरूको उपस्थितिका बिच शुक्रवार तीनलाल पार्कमा आयोजित सङ्गठन विस्तार बैठकले पदाधिकारीसहितको जिल्ला कमिटीलाई पूर्णता दिएको हो । 

 

जिल्लाको भौगोलिक वातावरणलाई ध्यानमा राख्दै अध्यक्षमा मन्थली नगरपालिकाका चिना लामा सर्व सहमतिमा चयन भएको उज्यालो नेपाल पार्टी रामेछापले जनाएको हो । त्यस्तै उपाध्यक्षमा लिखु तामाकोशी गाउँपालिकाका दामोदर तामाङ, सचिवमा मोतीलाल घिसिङ (खाँडादेवी) लाई जिम्मेवारी दिइएको छ । 

 

त्यस्तै उप–सचिवमा सागर थापा (मन्थली), अर्जुन घिसिङ (दोरम्बा शैलुङ) र तेन्जिङ लामा (सुनापति) चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी देव थुम्बा (गोकुलगंगा) लाई दिएको बताइएको छ। यस अगाडि गठित कमिटीका नेताहरू जिल्ला केन्द्रीय कमिटीमा सक्रिय भएका कारण जिल्ला कमिटी पुनर्गठन गरिएको बुझिएको छ । 

 

शुक्रवार जिल्लामा गठित स्थानीय तहका अध्यक्षहरूले हाल सम्म सङ्गठन विस्तार र सञ्चालन गर्दै आएका गतिविधिका बारेमा ‘रिपोर्ट कार्ड’ सहित उपस्थित भएर केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरूलाई सुनाएका थिए । उनीहरू आगामी निर्वाचनमा रामेछापसहित बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबीसहित वर्तमान सरकार (रास्वपा) पुराना दलहरू भन्दा पनि खराब बाटोमा हिँडेको भन्दै चर्चको आलोचना गरेका थिए ।