१५ औँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि निवर्तमान सभापति न्यौपानेद्वारा धन्यवाद ज्ञापन
१७ असोज, रामेछाप । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लामा निर्वाचित लवश्री न्यौपानेले मतदाता कार्यकर्ता प्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई विजयी गराउन सहयोग गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे ।
रामेछाप नगरपालिकाका नगर प्रमुख समेत रहेका न्यौपाने ५३३ मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । ३७ जनासँग प्रतिस्पर्धा गरेका न्यौपानेले निर्वाचित हुने १० भित्र पर्दै निर्वाचित भए । निर्वाचित भएपछि रामेछाप टाइम्ससंग कुरा गर्दै कार्यकर्ताको मतको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने ‘मलाई प्रदान गरिएको विश्वास र मायालाई सम्मान गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सुझावसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु।’
निर्वाचित सबै ३४ महाधिवेशन प्रतिनिधिलाई समेत बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै विजयी हुन नसकेका उम्मेदवारहरूको मेहनत, योगदान र लोकतान्त्रिक प्रक्रियामा रहेको सक्रिय सहभागिताको समेत उच्च सम्मान व्यक्त गरेका छन् । न्यौपाने नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टी सभापति न्यौपाने जिल्लाका अग्रज नेता हुन् । विशेष महाधिवेशनपछि पार्टी एकताको पक्षमा वकालत गर्दै आएका उनी शेखर कोइरालालाई सँगै लिएर पार्टी एक ढिक्का भएर अगाडि बढ्नु पर्ने तर्क गर्दै आएका छन् ।
