आठौँ संविधान दिवसको अवसरमा आज रामेछापमा रक्तदान गरियो, भोलि प्रभात फेरी सहित भव्य कार्यक्रम

२ असोज, रामेछाप । आठौँ संविधान दिवसको अवसरमा रामेछापमा मंगलबार (आज) रक्तदान गरिएको छ । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी (प्रजिअ/सिडिओ) अनिता निरौला सहितको उपस्थितिमा मन्थली स्थित देवकोटा चोकमा गरिएको रक्तदानमा निजामती कर्मचारी, राजनीतिक दलका कार्यकर्ता सहित १५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेड्क्रश सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा १५ जनाबाट १५ पाउन्ड रगत संकलन भएको रेडक्रस रामेछापका शाखा प्रमुख शम्भु बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘प्रमुख जिल्ला अधिकारीले केही समय अगाडि मात्रै दिनु भएको थियो । नगर प्रमुखले पनि रगत दिएको ३ महिना नपुगेकाले उहाँले दिन मिलेन अरूले दिनु भयो ।’
उनका अनुसार तत्काल जिल्लामा रगतको अभाव छैन । महिनामा २० देखि २५ पाउन्ड रगत खपत हुँदै आएको जिल्लामा रगत अभाव नहोस् भनेर रेड्क्रशले व्यक्तिहरूलाई समेत सम्पर्कमा राख्ने गरेको छ । ‘अहिले त्यस्तो अभाव छैन । हामीले त्यस्तो आवश्यकता नै पर्यो भने पनि ‘गुरुप’ अनुसारको रगत भएकाहरूलाई सम्पर्कमा हुनु हुन्छ ।’
रक्तदान गर्दै कर्मचारीहरु, तस्विर स्रोत जिल्ला प्रशासन कर्मचारी
रेड्क्रश रामेछापले यहाँ खपत हुन नसकेको रगत सिन्धुली, धुलिखेल लगायतका अस्पतालमा पठाउँदै आएको छ । जिल्लामा, जिल्ला अस्पताल रामेछाप, मन्थली अस्पताल, तामाकोशी अस्पताल मन्थली र रामेछाप सामुदायिक अस्पताल लगायतका अस्पतालमा रगत खपत हुँदै आएको छ ।
भोलि देश व्यापी रूपमा मनाइँदै गरेको आठौँ संविधान दिवसको अवसरमा रामेछापमा ५ दिन अगाडि देखि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गत भदौ २९ गतेदेखि नै जिल्लामा मैत्रीपूर्ण फुटबल, भलिबल लगायतका खेलकुद सहित रक्तदान, सरसफाइ, राष्ट्रिय झण्ड फराउने, प्रभात फेरी जस्ता सबैको सहभागिता हुने कार्यक्रम गरी मनाइँदै छ ।
विसं २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको दिनको सम्झनामा भोलि बुधवार जिल्लामा बिहान प्रभात फेरी सहित भव्य कार्यक्रम र विभिन्न खेलकुदमा भाग लिएकाहरूलाई प्रमाणपत्र प्रदान सहितको कोण सभा हुने तयारी रहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
यी कार्यक्रममा जिल्लाका कर्मचारी, पत्रकार, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी अभिभावक सबैको सहभागिता रहेको छ ।