रामेछाप प्रशासन र प्रहरीलाई दलित आयोगको निर्देशन – ‘लक्षित समुदायका मुद्दालाई विशेष तरिकाले हेर्दिनुस्’

| माघ २४, २०८० बुधबार

A A A
A A A

 

२४ माघ, रामेछाप । रामेछापमा जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई दलित समुदायका मुद्दालाई ‘विशेष’ टुङ्गोमा पुर्‍याउने गरी काम गर्न राष्ट्रिय दलित आयोगले निर्देशन एवं आग्रह गरेको छ । सम्बन्धित कार्यालयहरूले ती समुदायका सवालका मुद्दाहरूलाई हेर्दा पीडितलाई न्याय हुने गरी काम गर्न निर्देशन गरेको हो । यसरी जिल्लामा दलित समुदायका विषयमा आयोगले चासो दिएर औपचारिक रुपमा सरोकारवालाहरुसंग पहिलो पटक छलफल गरेको हो । 

 

बुधवार जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी (सिडिओ‌) अनिता निरौला, जिल्ला प्रहरी प्रमुख (डिएसपी) होमप्रसाद पराजुली सहित सबै राजनीतिक दल निकट अगुवा दलित नेताहरू र पत्रकारहरूसहितको छलफलमा आयोगका सदस्य सुन्दर पुर्कुटीले दलित समुदायका मुद्दा र प्रशासनिक सेवामा समेत सहज गरिदिन आग्रह गरेका हुन् । 

छलफल 

आयोगका प्रवक्ता समेत रहेका सदस्य पुर्कुटीले संविधान, कानुन र माथिल्लो निकायबाट आउने निर्देशन र परिपत्रहरूलाई अक्षरशः पालना गर्दै उनीहरूले पाउने र अधिकारलाई सहज पारिदिन आग्रह गरेका हुन् । सिडिओ र डिएसपीबाट ती समुदाय लक्षित प्रवाह भइरहेका सेवा र प्रगतिको समेत फेरिसता सुनेका आयोग सदस्य पुर्कुटीले आगामी दिनमा सम्बन्धित कार्यालयहरूले प्रदान गर्ने सेवामा गर्नु पर्ने सुधार बारेमा बुँदागत सुझाव समेत दिएका छन् । उनले यी सुझावहरूलाई कार्यान्वयन गर्न आग्रह गर्दै आयोगले पनि सहजिकरण गर्ने प्रतिबद्धता जनाए । ‘त्यो काम भयो कि भएन, कुनै दिन म फेरी आएर हेर्ने छु । त्यो भएको पाइने भने हामी त्यो कार्यालयको बारेमा सेवा प्रवाहको बारेमा माथिल्लो निकायमा सिफारिस गर्ने छु’ दिएको निर्देशन पूर्ण कार्यान्वयन गर्न आग्रह गर्दै पुर्कुटीले भने ‘त्यस्तो दिन सकेसम्म नपरोस् ।’

 

अधिकार  माग्ने सन्दर्भलाई उल्लेख गर्दै सबैले आ–आफूले प्रदान गर्ने कर्तव्यलाई भुल्न नहुने जिकिर गरे । आयोगले चालु आर्थिक वर्षमा गरेका कार्य र बजेट बारेमा समेत जानकारी गराउँदै आफ्नो जिम्मेवारी पूर्ण रूपमा लागू गरेको समेत दाबी गरे । 

 

मंगलबार खाँडादेवी गाउँपालिकामा जनप्रतिनिधिहरू सहितको छलफल राखेर त्यहाँ भएका दलित समुदायका काम कारबाही र दलित समुदायका समस्याका बारेमा अध्ययन तथा अनुगमन गरेको आयोग सदस्य पुर्कुटीको टोलीले बुधवार जिल्ला प्रशासन कार्यालय र प्रहरी मार्फत हाल सम्म जिल्लामा ती समुदायहरूका मुद्दाको विषयमा जानकारी लिएको छ । 

 

स्थानीय तहबाटै दलित समुदायका मुद्दा माथि भइरहेका समस्या र गुनासा बारेमा यकिन जानकारी लिने उद्देश्यले देशका विभिन्न ठाउँमा पुगेको पुर्कुटीको टोलीले बुधवार प्रशासन र प्रहरीसँगको छलफलपछि जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा समेत छलफल तथा अन्तरक्रिया गरेको छ ।