खिम्ती खोलामा गोकुलगंगा र तामाकोशीको शहरेलाई जोड्ने गरी पुल बनाइँदै, शहरे वडा कार्यालयको त्यो पत्रले बढ्यो तिक्तता !

| फागुन १४, २०८० सोमबार

खिम्ती खोलो सहित सिमा आसपासका बस्तिहरु, तस्बिर फाइल ।
A A A
A A A

१४ फागुन, रामेछाप । पहिले नै गाउँपालिकाले सहमति दिएर पुलको (डिपिआर) समेत सकिएको अवस्थामा वडा कार्यालयले उक्त (डिपिआर) सहितको कामलाई चुनौती दिँदै नयाँ ढङ्गले अगाडि बढ्छौँ भनेपछि रामेछापको गोकुलगंगा गाउँपालिका र दोलखाको तामाकोशी गाउँपालिका बिच तिक्तता बढेको छ । तामाकोशी गाउँपालिकाको वडा नं ५ शहरेले यो विषयमा दुई पालिकाका सरोकारवालाबिच सहमति नभएको दाबी गरेपछि समस्या देखिएको हो । 

 

 ‘दुवै तर्फका सेवाग्राही/जनसमुदायको आवतजावत गर्ने पुल निर्माण गर्दा बहुसंख्यक जनसमुदायको हितमा रहेर कार्यान्वयन गर्नुपर्ने ठाउँमा एकलौटी ढङ्गले काम अगाडी बढाए प्रति यस वडा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको’ वडा कार्यालय शहरेले आइतबार गम्भीर ध्यानाकर्षण पत्र जारी गर्दै भनेको छ । 

 

दुई पालिकाको सिमाना भएर बग्ने खिम्ती खोलामाथि बन्ने पक्की पुललाई लिएर तामाकोशी गाउँपालिका वडा नं ५ शहरेले आफ्नै अडान सहित पत्र सार्वजनिक गरेपछि गोकुलगंगा गाउँपालिकाका स्थानीयहरू समेत रुष्ट देखिएका छन् । उनीहरूले शहरे वडा कार्यालयको उक्त धारणा प्रति आक्रोश व्यक्त गरिरहेका छन् । 

 

यस अगाडि तामाकोशी गाउँपालिका वडा नं ५ र गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु जोड्ने खिम्ती खोला मोटरेयबल पुल बागमती प्रदेशको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट (डिपिआर) समेत सम्पन्न भइसकिएको बुझिएको छ ।

 

तर, तामाकोशी गाउँपालिका वडा नं ५ शहरेका अध्यक्ष शम्भुप्रसाद फुयाँलले आफ्नो वडाका स्थानीय सरोकारवालाको सहमति नभएको दाबी सहित पत्र जारी गर्दै भनेका छन् ‘सम्बन्धित वडा तथा सरोकारवाला उपभोक्ताको छलफल र सहमति नभई एकतर्फी ढंङ्गले (डिपिआर) निर्माण गर्न लागेको’ उल्लेख छ । 

 

अध्यक्ष फुयाँलले सोही विषयमा तामाकोशी ५ का सरोकारवाला स्थानीयले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय लगायतका सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र समेत बुझाएको स्मरण गरेका छन् । 

 

यस्तो अवस्थामा गत बुधवार भौतिक पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक चौताराबाट प्राविधिक टोलीले सर्भे गरेपछि वडा शहरे वडा कार्यालयले आपत्ति जनाएको हो । उसले वडावासीको सहमति बिना एकलौटी ढङ्गबाट पुल निर्माणको लागि सर्भे दाबी गरेको हो । 

 

त्यसपछि गत शनिवार वडा अध्यक्ष सहित स्थानीय सरोकारवालको बैठक बसेर (डिपिआर) गर्न सर्भे भएको स्थान भन्दा २ किलो मिटर बस्तीबाट निर्माण गर्नको लागि निर्णय समेत गरेको वडा कार्यालय शहरेले जारी गरेको पत्रमा उल्लेख छ । 

 

साथै बैठकले पहिलेको (डिपिआर्) रद्द गरी नयाँ प्रस्तावित स्थानबाट (डिपिआर) गर्न समेत माग गरेको उल्लेख छ । ‘अन्यथा जबरजस्ती कार्यान्वयन गर्ने गरी पुल निर्माणको योजना अगाडी बढाएमा वडा कार्यालय शहरे र स्थानीय सरोकारवाला लाभग्राही चुप नरहने’ सम्म चेतावनी दिइएको सार्वजनिक पत्रमा उल्लेख छ । 

 

यसै विषयमा गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडा अध्यक्ष दीपक कार्कीसँग रामेछाप टाइम्सले बुझ्दै उताबाट वडालाई केही फाइदा पुर्‍याउने उद्देश्यले कुरा बाहिरिएको पाएको भन्दै छलफलबाट समाधान गरिने बताए । 

 

पुल पहिले सहमतिबाट (डिपिआर) भइसकेको जानकारी दिँदै एक तर्फी भन्दा दुई तिरको स्थानीयहरूलाई लाभदायक हुने गरी काम गर्नु उपयुक्त हुने उनको भनाई छ । वडा अध्यक्ष कार्कीले एक तर्फ स्वार्थ हेर्न नहुँने भन्दै यसलाई साझा समस्याको रूपमा लिएर दुवै तर्फका सरोकारवालाहरू बसेर समाधान गर्नु आजको आवश्यकता रहेको धारणा राखे ।

 

यो पुल निर्माण भएमा खिम्ती हुँदै नामाडी बेताली जोड्ने सडक निकै छोटो र सहज हुने छ । साथै शहरे वडाका स्थानीयहरूलाई समेत सडकको सहज पहुँच र दीर्घकालीन विकासको लागि छिमेकी पालिकासँग सम्पर्क गर्न फाइदा पुग्ने छ ।