मन्थलीका पूर्व मेयर बस्नेत भन्छन् –‘सार्वजनिक जग्गाको दुरुपयोग बढ्यो कसैले रोक्न चासो दिएनन्, राजनीतिक भविष्यको चिन्तन गर्दिन’

| जेठ ३०, २०८१ बुधबार

A A A
A A A

३० जेठ, रामेछाप । निवर्तमान मन्थली नगरपालिकाका प्रमुख (मेयर) एवं नेकपा एमाले रामेछापका नेता रमेश कुमार बस्नेतले सरकारी जग्गाको संरक्षण गर्नु पर्नेमा जोड् दिएका छन् । साथै खोला, नदी र कोशीमा रहेका ढुङ्गा, बालुवाको उचित मात्र प्रयोग (व्यवस्थापन) गरेर स्थानीय तहको आय आम्दानी बढाउनु पर्ने उनको भनाई छ । 

 

मंगलबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै पूर्व मेयर बस्नेतले ‘जो सुकै होस् सार्वजनिक र गुठ्ठिका जग्गा माथिको ब्रमालुट बन्द गर्नु पर्छ । कुर्सीमा बस्नेहरूले त्यसको संरक्षण गर्नु पर्छ । सार्वजनिक सम्पत्ति राज्यको सम्पत्ति हो । त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन’ भने । तर, रामेछाप जिल्ला भरी सार्वजनिक जग्गा अतिक्रमण तीव्र भइरहेको र त्यसको संरक्षण गर्न स्थानीय सरकारहरूले चासो नदिएको आरोप छ । 

 

नेता बस्नेतले मन्थलीलाई समृद्ध बनाउन रणजोर, सुकाजोर खोला र तामाकोशी नदीमा रहेका ढुङ्गा, गिट्टी, बालुवाको सही सदुपयोग गर्न सक्नु पर्नेमा जोड् दिए । ‘नदीमा खेर गएका कच्चा सामाग्रीको प्रयोग गरेर आम्दानीको स्रोत बढाउनु पर्छ । र, अरूले दिएन । भएन । छैन । भनेर आशा गर्नु र निराशा हुनु पर्दैन । आफ्नै आय स्रोत बढाउनु पर्छ । तर, जिल्ला भरी कसैले त्यो गर्न सकेनन् ।’

 

मन्थली नगरपालिकामा वर्तमान नेतृत्वले २ वर्षसम्म पनि आशा लाग्दो काम सुरुवात गर्न नसकेको र अहिले बनाउन लागेको नयाँ बजेटमा पनि देखिने गरी ठुला पूर्वाधारका काम आउन नसक्ने प्रस्ट रहेको भन्दै ‘तपाईँहरूले आँट गर्नुस् म, राम्रो कामको लागि ज्यान छोडेर लाग्छु । तर, आशा जगाउने कुनै काम हुन सकेका छैन’ भने । 

 

आफ्नो कार्यकालमा बहुमत वडा अध्यक्ष नहुँदा पनि तीनलाल पार्कको निर्माण सहित यहाँको मठ, मन्दिरलाई, धार्मिक तथा ऐतिहासिक स्थलको निर्माण र त्यहाँ सम्म पुग्नको लागि बाटो, सडक निर्माण, ६६.५ किलो मिटर सडक कालोपत्रे, मन्थली अस्पताल संचालन जस्ता महत्पूर्ण कार्य भएको उनको जिकिर छ । 

 

 

केही समय अगाडि नेकपा एकीकृत समाजवादी पार्टी रामेछापको नेतृत्वलाई त्याग्दै एमालेमै फर्किएका बस्नेतले राजनीतिक अस्थिरताको आरोप स्वीकार गरेका छन् । 

 

विभिन्न कालखण्डमा आएको परिस्थितिलाई हेरेर व्यक्तिगत निर्णय लिएको तर्क गर्दै उनले ‘पछिल्लो समयको निर्णयले मेरो राजनीतिक भविष्यमाथि केही असर पनि पुर्‍याएको छ । तर, म भोलि के हुन्छु । मन्त्री, सांसद, मेयर, ठुलो नेता बन्छु भन्दा पनि जहाँ जनताको काम गर्न सकिन्छ त्यो सोचेर अगाडि बढेको छु । राजनीतिक भविष्यको चिन्तन गर्दिन’ भने ।