नेपाली काँग्रेस रामेछापको धोबीमा ‘रुख रोप्ने’ कार्यक्रम नेताहरूको व्यस्तताले हेरफेर, कार्यक्रम मन्थलीमै हुने

| साउन ४, २०८१ शुक्रबार

सांकेतिक तस्बिर ।
A A A
A A A

४ साउन, रामेछाप । नेपाली काँग्रेस रामेछापले आउँदो आइतबार परेको ४२ औँ बिपी स्मृति दिवस मनाउने कार्यक्रम नेताहरूको व्यस्तताले हेरफेर गरेको छ । यस अगाडि पार्टी केन्द्र प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशसरण महतको उपस्थितिमा लिखु तामाकोशी गाउँपालिकाको धोबीमा वृक्षारोपण गरी मनाउने तयारी गरेकोमा केन्द्रमा पछिल्लो पटक विकसित राजनीतिक व्यस्ततालाई ध्यानमा राखेर कार्यक्रम हेरफेर गरेको जनाएको हो । 

 

आइतबार संसद्को ठुलो दल नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनमा रहेको केपी शर्मा ओली नेतृत्वको सरकारको तर्फबाट ओलीले प्रधानमन्त्रीमा विश्वासको मत लिने तय गरेपछि जिल्ला पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ र पूर्व निर्धारित कार्यक्रमका प्रमुख अतिथि सांसद महत व्यस्त हुने भएकाले कार्यक्रम हेरफेर गरिएको नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले जानकारी दिए । 

 

पार्टी सचिव खड्काले बिहीबार जारी गरिएको पत्रमा ‘प्रथम जन निर्वाचित प्रधानमन्त्री नेपाली काँग्रेसका संस्थापक नेता महामानव स्व. बि.पी. कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा ०६ गते धोबी केन्द्रीय प्रवक्ता तथा पूर्व अर्थमन्त्री माननीय डा.प्रकासशरण महत ज्यूको प्रमुख आतिथ्यतामा हुने भनिएको रुख रोप्ने कार्यक्रम मन्थलीमा बिपीको सालिकमा माल्यार्पण र तामाकोशी सेवा समितिको कम्पाउण्ड भित्र रुख रोप्ने कार्यक्रम छ’ भनिएको छ । 

 

यस अगाडि जिल्ला पार्टी सभापति तामाङ आफैले पत्र जारी गर्दै धोबीमा रुख रोप्ने कार्यक्रम बारे जानकारी गराएका थिए । तर, नेताहरूको व्यस्तताको कारण कार्यक्रम फेरिएको सचिव खड्काले पत्र मार्फत जानकारी गराएका हुन् । 

 

सचिव खड्काले दिएको पछिल्लो जानकारी अनुसार अब मन्थलीमा रहेको विपिको शालिकमा माल्यार्पण हुने र त्यसपछि तामाकोशी परिसरमा रुख रुपेर समापन गरिने तयारी भएको हो । 

 

यो हेर्नुहोस् पत्र