ऊर्जा राज्य मन्त्री बनेपछि मन्त्री तामाङ आज पहिलो पटक गृह जिल्ला रामेछाप आउँदै, यस्तो हुँदैछ तयारी ?

| साउन २५, २०८१ शुक्रबार

मन्त्री पूर्णबहादुर तामाङ्ग (कान्छाराम) लाई सुनकोसी जलविद्युत केन्द्र सिन्धुपाल्चोकमा, तस्बिर स्रोत धिरज खत्री ।
A A A
A A A

२५ साउन, रामेछाप । यही साउन १६ गते ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका पूर्णबहादुर तामाङ (कान्छाराम) मन्त्री भएपछि पहिलो पटक रामेछाप आउने भएका छन् । आजै मन्त्रीलाई सुनकोसी जलविद्युत केन्द्र सिन्धुपाल्चोकमा स्वागत कार्यक्रम सहित अवलोकन समेत गरेका छन् । 

 

काठमाडौँबाट दोलखाको चरिकोट हुँदै आजै (शुक्रवार) साँझ आफ्नो जन्मथलोमा आइपुग्ने गरी आफूहरू यात्रामा रहेको राज्य मन्त्री तामाङका स्वकीय सचिव सुरेश सुवेदीले रामेछाप टाइम्सलाई बताए । मन्त्री तामाङसहित जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की), पार्टीका नेता कृष्ण महत, गोकुलगंगा गाउँपालिका सभापति मणी कुमार तामाङ, नेविसंघ सभापति बिनोद बुढाथोकी, जिल्ला कार्यसमिति सदस्य दिपेन्द्र खड्का, तरुण दलका रमेश खड्का सहितका नेताहरु रहेका छन् ।

 

‘मन्त्रीज्यूको गाउँ (चुचुरे) मा राजनीतिक भेटघाट कार्यक्रमको लागि यात्रामै छौ’, भोलि (शनिवार) सदरमुकाम मन्थलीमा पार्टीको कार्यक्रममा सहभागी हुन आइपुग्छौँ’, स्वकीय सचिव सुवेदीले रामेछाप टाइम्ससंग भने । 

 

मन्त्री तामाङको जन्म गाउँ समेत रहेको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा वडा कार्यालयले शनिवार बिहान ९ बजे स्वागत, शुभकामना तथा सफल कार्यकालको शुभकामना कार्यक्रम आयोजना गरेको छ । नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका लोकप्रिय नेताको पहिचान बनाएका तामाङ मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउँदै गरेका हुन् । 

शनिवारै वडाको कार्यक्रममा सहभागी भएर दिउँसो ३ बजे नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमको लागि मन्त्री तामाङ मन्थली आउने कार्य तालिका रहेको स्वकीय सचिव सुवेदीले बताए । 

 

नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले पनि दिउँसो ३ बजे पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा पार्टीका सबै तहका नेता, कार्यकर्ता, भातृ, शुभेच्छुक संस्थासहितको उपस्थितिमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको बताए । 

मन्त्री भएपछि पहिलो पटक पार्टी सभापति समेत रहेका ‘कान्छाराम’ आउने भएपछि नेता कार्यकर्ता उत्साहित देखिएका छन् । शनिवार वडा र पार्टीको बधाई तथा शुभकामना सहितको कार्यक्रमलाई सम्बोधन गर्ने मन्त्री तामाङले आइतबार (२७ गते) नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको रजत जयन्ती तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने तयारी रहेको बताइएको छ । 

 

फोनिज रामेछापले रामेछाप नगरपालिकाको सभा हलमा मन्त्री तामाङको प्रमुख आतिथ्यतामा पत्रकार सम्मान सहित रजत जयन्ती मनाउँदै छ । 

 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनको तर्फबाट एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ‘पपुलर’ मतसहित चुनाव जितेका सांसद तामाङले पछिल्लो पटक संसद्को ठुलो दल नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनेको गठबन्धनको तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा राज्य मन्त्री नियुक्त भएका हुन् । 

 

मन्त्री नियुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटका राज्य मन्त्री तामाङलाई जिल्लाका पार्टी नेता कार्यकर्ताहरू सहित नेकपा एमाले रामेछापबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा माओवादी केन्द्रका नेताहरूले समेत प्रत्यक्षे भेटघाटसहित बधाई दिइरहेका छन् ।