रामेछापमा गर्नै पर्ने २/४ वटा काम ‘हन्डेड्’ प्रतिशत गर्छु – मन्त्री काफ्ले (भिडिओसहित)

| भदौ ६, २०८१ बिहिबार

A A A
A A A

६ भदौ, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारको तर्फबाट रामेछापको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने ‘२/४ वटा काम संस्थागत रूपमा आए । व्यक्ति पिछेका योजनाहरू भन्न सक्दिन तर संगठित रूपमा आउने २/४ वटा योजनाहरू ‘हन्डेड्’ प्रतिशत (१००%) गर्छु ।’ 

 

बिहीबार नेपाली काँग्रेस रामेछाप पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले कार्यकर्ताहरू माझ यस्तो प्रतिबद्धता जनाएका हुन् ।रामेछापका विभिन्न गाउँहरू डुलेको स्मरण गर्दै २/४ वटा गर्नै पर्ने कामहरू माग भएर आए आफूले गरेर छाड्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् । ‘त्यो काम गर्ने मेरो दायित्व हो २/४ वटा काम जसरी पनि गर्छु ।’

 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएपछि पहिलो पटक यहाँ आएका नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री काफ्लेले रामेछापका जनताले मागेका महत्त्वपूर्ण काम गर्ने बचन दोहोर्‍याएका हुन् । 

 

संगठन विस्तार गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्दै मन्त्री काफ्लेले भने ‘रामेछापको विकास अहिले नगरे कहिले गर्ने । मेरो क्षमताले भ्याए सम्म अर्थमन्त्रीको रूपमा भन्दै छु सकेको सहयोग गर्छु ।’ 

 

नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीको सभापतित्वमा भएको बधाई तथा शुभकामना कार्यक्रममा जिल्ला कार्यसमिति सदस्यहरू, रामेछाप नगरपालिकाका प्रमुख समेत रहेका निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की (थापा) लगायत नेपाल तरुण दल, नेविसंघ, शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिको भव्य उपस्थितिमा मन्त्री काफ्लेलाई मन्त्री कार्यकालको शुभकामना तथा बधाई दिएका थिए । 

सो क्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति कार्कीले रामेछापका विद्यालयमा खानेपानीको अभाव, कृषिमा सिँचाइ, वृद्ध आश्रम, सडक पूर्वाधार लगायतका समस्याहरू रहेको सुनाउँदै सम्बोधन हुने गरी प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे । 

 

रामेछाप नगरपालिकासहितका स्थानीय तहमा केही ठुला पूर्वधरका काम सुरु हुने चरणमा रहेको बताउँदै उपसभापति कार्कीले ती पूर्वाधार सम्पन्न हुने गरी प्रदेशले सहयोग गर्नु पर्नेमा सुनाए । 

 

भिडिओमा हेर्नुहोस्