ओखलढुङ्गाको लिखु गाउँपालिकालाई ३–१ ले हराउँदै रामेछापको लिखु तामाकोशी गाउँपालिकाले जित्यो नमुनादीप भलिबलको उपाधि

| कात्तिक १४, २०८१ बुधबार

A A A
A A A

१४ कात्तिक, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका सैपुमा आयोजित ‘पालिका स्तरीय’ भलिबल प्रतियोगिताको उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले जितेको छ । विजेताहरूलाई गाउँपालिकाका अध्यक्ष केशव महतले ‍कल्बका अध्यक्ष राजन बस्नेतसहितको उपस्थितिमा पुरस्कार प्रदान गरेका छन् । 

 

बुधवार बिहान अरुणोदय मावि सैपुको खेल मैदानमा भएको फाइनल खेलमा ओखलढुङ्गाको लिखु गाउँपालिका ‘ए’ लाई ३–१ को सेटमा पराजित गर्दै लिखु तामाकोशी गाउँपालिकाले उपाधि जितेको हो । 

 

रामेछापसहित ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी प्रतियोगितामा गोकुलगंगा गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको लिखु तामाकोशी गाउँपालिकाले उपाधि जितेसँगै नगद १ लाख १ हजार ५ सयसहित ट्रफि हात पारेको छ । 

 

उपविजेता टोली लिखु गाउँपालिका ओखलढुङ्गाले नगद ७५ हजार ५ सय हात पारेको छ । सोलु खुम्बुलाई पराजित गर्दै तेस्रो भएको गोकुलगंगा गाउँपालिकाले नगद ५० हजार ५ सयमा चित्त बुझाएको आयोजकले जनाएको हो । 

 

यही कात्तिक ११, १२ र १३ गते सम्मको लागि नमुनादीप क्लबद्वारा आयोजित दशौं संस्करणको खुल्ला भलिबल प्रतियोगिता मङ्गलवार अबेर सम्म पनि नसकिएपछि बुधवार बिहान सम्मको लागि लम्बिएको थियो । ११ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) उद्घाटन गरेको सो प्रतियोगिता विभिन्न दाताहरू र पालिकासँग आर्थिक संकलन गरी संचालन भएको थियो ।