रामेछापको कृषि, पर्यटन र औद्योगिक क्षेत्रको विकासको लागि ‘लगानी सम्मेलन’ गरौँ – उपाध्यक्ष वैद्य (भिडिओसहित)

| माघ १८, २०८१ शुक्रबार

A A A
A A A

१८ माघ, रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले रामेछापमा लगानी सम्मेलन राख्न आग्रह गरेका छन् । त्यसको लागि यहाँको स्थानीय सरकार, निजी क्षेत्रसहित सरोकारवालाले ‘चासोका साथ कार्यक्रमको खाका’ तयार पार्नु पर्नेको भनाई छ । 

 

गत बुधवार मन्थलीमा रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला पर्दशनीको उद्घाटन गर्दै केन्द्रीय उपाध्यक्ष वैद्यले भने ‘यहाँको कृषि, पर्यटन र उद्योगको क्षेत्रमा हामीले के गर्न सक्छौँ खाका तयार पार्नुहोस्’ रामेछापका जनप्रतिनिधि र निजी क्षेत्रलाई यी तीन क्षेत्रबाट रामेछापलाई सहयोग गर्न महासंघ तयार रहेको प्रतिबद्ध जनाउँदै प्रस्ट पारे ‘तपाईँहरू बसेर खाका तयार पर्नुहोस्, हाम्रो प्रतिनिधि आउँछ । त्यसको कार्यान्वयनको लागि हामी मिलेर एउटा लगानी सम्मेलन गरौँ ।’

 

रामेछापमा जल विद्युत् आयोजनाहरू पर्याप्त बनिरहेको बताउँदै विद्युतको नयाँ योजना आवश्यक नरहेको बताए । ‘यो क्षेत्रमा जल विद्युत् नयाँ लाइसेन्स आवश्यक छैन ।’

 

पछिल्लो समय नेपाल सरकारले उद्योगी व्यवसायीको हितमा हुने धेरै ऐन, कानुन परिमार्जन गरेको सुनाउँदै लगानीको वातावरण रहेको धारणा राखे । सरकारले मझौला तथा साना उद्योगीले बिमा मार्फत ऋण भुक्तानी गर्न सक्ने निजी एवं योजना ल्याउनु पर्ने माग राखे । ‘विगतका सरकारले पटक–पटक भन्दा पनि कानुन संशोधन गर्दैन थियो । अहिलेको सरकारले एकै पटकमा ६/७ वटा कानुन संशोधन गरेर उद्योगीहरूको हितमा काम गरेको छ’

 

बागमती प्रदेश सरकारलाई कुल बजेटको १० प्रतिशत बजेट छुटाउन महासंघले यस अगाडि नै माग गरेको सुनाउँदै ८ देखि १० प्रतिशत प्रदेशको बजेट उद्योग क्षेत्रमा छुटाउन प्रदेश सांसद आनन्द कुमार श्रेष्ठको ध्यानाकर्षण गराए । 

 

बजार अनुगमन गर्दा महासंघ र त्यस मातहतका निकायसँग सहकार्य नभएको गुनासो गर्दै ‘१६/१७ वटा निकायबाट अनुगमन गर्दा समस्या भइरहेको छ । सहकार्य गरेर गर्नु राम्रो हुन्छ’ भने । 

 

रामेछाप उद्योग वाणिज्य संघले ११ दिने मेलालाई दिउँसो निःशुल्क हेर्न सक्ने व्यवस्था गरेर देशभरिकै नमुना काम गरेको भन्दै प्रशंसा गरे ।