रामेछापमा एस.इ.ई नतिजा : विगतको तुलनामा उल्लेख्य रूपमा सुधार, ३६ जनाले ल्याए ४ जिपिए

| बैशाख २९, २०८३ मंगलबार

AI को सहयोजमा बनाइएको सांकेतिक तस्बिर ।
A A A
A A A

२९ वैशाख, रामेछाप । गए राति राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित माध्यमिक शिक्षा परीक्षा  को नतिजामा रामेछाप जिल्लाको समग्र नतिजालाई नियाल्दा उल्लेख्य रूपमा सुधारिएको एवं उपलब्धि मूलक देखिएको छ । यद्यपि विद्यालय स्तरमै उत्तर पुस्तिका जाँचिनु र विगतको तुलनामा हतारहतारमा नतिजा सार्वजनिक गरिनुले प्रकाशित नतिजामा आशंका गर्ने ठाउँहरू पर्याप्त रहेको विश्लेषण भइरहेका छन् । 

 

यो वर्ष शैक्षिक (एस.इ.ई) परीक्षा भएको महिना दिन भित्रै नतिजा सार्वजनिक गरिइएको हो । परीक्षामा साधारणतर्फ २१ सय ३६ र प्राविधिक धारतर्फ १४४ गरी कुल २२ सय ८० परीक्षार्थी मध्ये साधारण तर्फ १७ सय १० र प्राविधिक धारतर्फ १४४ जना गरी १८ सय ५४ विद्यार्थी उत्तीर्ण एवं ग्रेडेड भएका हुन् । परीक्षा दिएका कूल विद्यार्थी मध्ये ४ सय२६ जनाले भने मान्य हुने नतिजा एवं ननग्रेडेड भएका छन्।

 

प्राप्त नतिजा अनुसार साधारण धारतर्फ ८०.०६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने प्राविधिक धारतर्फ शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । समग्र जिल्लागत ग्रेडेड प्रतिशत ८१.३२ रहेको छ। यो नतिजा अघिल्लो वर्षको तुलनामा उल्लेख्य हो । अघिल्लो वर्ष ५० प्रतिशत पनि नतिजा आएको थिएन ।

 


यस वर्ष ३.६१ देखि ४‍.०० अर्थात् ४ जिपिए मात्रै ३६ जनाले ल्याउन सफल भएका छन् । विद्यालय गत रूपमा हेर्दा पनि यो वर्ष धेरै विद्यालयको नतिजा अघिल्लो वर्षको तुलनामा सुधार भएको पाइएको हो । 

 

शिक्षा विकास तथा समन्वय इकाई रामेछापले विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयको सामूहिक प्रयासका कारण नतिजा सुधारोन्मुख भएको शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेलले रामेछाप टाइम्ससंग बताए । उनले आगामी वर्ष अझ उत्कृष्ट नतिजा ल्याउने गरी विद्यालय स्तरबाट थप शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने धारणा राखे । 

रामेछाप टाइम्स
| बैशाख १५, २०८३ मंगलबार