साउन ११ गते सांसद बुढाथोकीले रामेछापका कार्यालय प्रमुखसँग छलफल गर्ने

| साउन ३, २०८३ आइतबार

A A A
A A A

०३ साउन, रामेछाप । साउनको दोस्रो सोमबार (साउन ११ गते) सांसद डा.कृष्णहरि बुढाथोकीले रामेछापका सरकारी कर्मचारी सँग छलफल तथा अन्तरक्रिया गर्ने भएका छन् । त्यसको लागि जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारीलाई पठाएको एक पत्र सार्वजनिक गर्दै व्यवस्थापन गर्न आग्रह समेत गरेका छन् । 

 

२१ फागुन, २०८२ मा सम्पन्न भएको निर्वाचनमा नेकपा (एमाले) का माधव ढुङ्गेललाई पराजित गर्दै निर्वाचित बनेपछि एक पटक जिल्ला स्थानीय तहका जनप्रतिनिधिहरू सँग भेटघाट तथा छलफल गरेका सांसद बुढाथोकीले नयाँ आर्थिक वर्ष २०८३/०८४ को सुरुवात भयसँग कर्मचारीसँग छलफल तथा भेटघाट गर्न लागेको जानकारी गराएका हुन् । सोमबार बिहान ११ गते अर्थ समितिका सभापति समेत रहेका सांसद बुढाथोकीले ‘जिल्लाका सबै सरकारी कार्यालय प्रमुखहरूसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गर्ने’ जारी पत्रमा उल्लेख छ । 

 

पत्रमा जिल्लाको शान्ति सुरक्षा, सुशासन, विकास निर्माण, सेवा प्रवाह तथा समग्र प्रशासनिक अवस्थाबारे समीक्षा गर्ने र आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न विकास आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति, निर्माण व्यवसायीको कार्यसम्पादन अवस्था, अलपत्र आयोजनाको विवरण बारेमा छलफल गरिने भनिएको छ । 

 

त्यस्तै आर्थिक वर्ष २०८३/०८४ मा कार्यान्वयन गरिने विकास योजना तथा जनसेवा सुधारसँग सम्बन्धित कार्यक्रमहरूको स्पष्ट समय सीमा सहितको कार्य योजना प्रस्तुत गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ।