‘पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार’ मातृका पौडेललाई प्रदान
०७ साउन, रामेछाप । प्रेस चौतारी नेपालले ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मातृका पौडेललाई प्रदान गरेको छ । बिहीबार मन्थलीमा पुरस्कार वितरण समारोह कार्यक्रमको आयोजना गरी पौडेललाई नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
नेकपा एमाले रामेछापका नेता रत्न प्रसाद गौतमको व्यक्तिगत सहयोगमा प्रेस चौतारी रामेछापले गत वर्ष देखि अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याजबाट देशभरका एक जना पत्रकारलाई सम्मान गर्ने कार्यविधि अनुसार प्रथम पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक समेत रहेका पौडेललाई नगद रु २५ हजारसहित सम्मान प्रदान गरेको हो ।
नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर प्रेस चौतारी रामेछापले उक्त पुरस्कार प्रदान गरेको हो । लिखु तामाकोशी गाउँपालिका–२, सुपै निवासी पौडेल लामो समय देखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइन खबर,राजधानी दैनिक लगायत मेनस्ट्रिम मिडियामा कार्यरत रहँदै पछिल्लो समय आफै नेतृत्व गरी नेपाल प्रेस अनलाइन मिडिया सञ्चालन गर्दै आएका छन् ।
पुरस्कार ग्रहण गर्दै पत्रकार पौडेलले पछिल्लो समय दक्ष जनशक्तिको अभाव खेप्नु परेको तर्क गरे । उनले विभिन्न संघ सङ्गठनहरूले सम्मान, पुरस्कार प्रदान गर्ने भन्दा पनि सो रकम पत्रकारहरूको क्षमता विकासमा खर्च गर्नु पर्नेमा जोड् दिए । उनले भने ‘यसरी पुरस्कार, सम्मानमा खर्च गर्ने रकम क्षमता विकास र पत्रकारहरूलाई दक्ष बनाउन खर्च गर्न सके थप उपलब्धि मूलक बन्छ ।’
पुरस्कार वितरण समारोहमा नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेल, प्रदेश सांसद आनन्द कुमार श्रेष्ठ, प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामा,खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, एमाले रामेछापका कार्यवाहक अध्यक्ष होतराज ढकाल लगायत रामेछापका पत्रकार र नेकपा एमालेका नेता र भातृ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
