रामेछापको सुनापति, गोकुलगंगा र उमाकुण्ड गाउँपालिका ‘क्रमश’ बालमैत्री गाउँपालिका घोषणा हुने
सुनापति, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु क्रमशः सुरेश कुमार श्रेष्ठ, दिनेश भट्टराई र ङावा शेर्पा ।
१२ साउन, रामेछाप । रामेछापका तीन गाउँपालिका यो वर्ष बालमैत्री गाउँपालिका बन्ने भएका छन् । बालमैत्री गाउँपालिका घोषणा गर्न विभिन्न चरणका कार्यक्रम धमाधम भइरहेको पालिकाहरूले जनाएका छन् । यी तीन पालिका एक–एक महिनाको फरकमा बालमैत्री घोषणा हुने योजना बनेको हो ।
२०७९ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको अन्तिम कार्यकालको रूपमा रहेको काम गरी रहँदा जनप्रतिनिधिहरूले आफ्नै कार्यकाल रहँदै बालमैत्री घोषणा सक्न चासो देखाउँदा सुनापति, गोकुलगंगा र उमाकुण्ड गाउँपालिका आउँदो माघ मसान्त भित्र बालमैत्री गाउँपालिका घोषणा गरिसक्ने लक्ष्य सहित सूचक पूरा गर्ने कार्यहरू चरणबद्ध रूपमा सञ्चालन भइरहेको हो ।
सुनापति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले रामेछाप टाइम्ससंग कुरा गर्दै यो पालिका आउँदो मंसिर भित्र बालमैत्री घोषणा हुने गरी काम भइरहेको बताए । उनले भने ‘धमाधम सूचकहरू पूरा गर्नको लागि काम जारी छ’ । ५ वटा वडा रहेको यो गाउँपालिकाले बालमैत्री घोषणाको पूर्वाधार निर्माणसहित ५१ वटा सूचकले निर्धारण गरेका सूचक पूरा गर्न चालु आर्थिक वर्ष २०८३/०८४ मा झण्डै डेढ करोड बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाई छ ।
वडा तह सम्म समिति र सञ्जालहरू गठनको काम सकेर फाइलिङ् गर्ने काम भइरहेको सुनाउँदै तोकिएको समयमै घोषणा गर्नका लागि गाउँपालिका नेतृत्वसहित आफूहरू सक्रिय रूपमा लागि रहेको उनको भनाई छ ।
त्यस्तै आउँदो पुस महिना भित्र बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि आवश्यक सूचक पूरा गर्ने काम जारी रहेको सुनाउँदै गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले तथ्याङ्क सङ्कलनको काम जारी रहेको बताए । ‘तोकेको समयमा घोषणा गर्ने लक्ष्य सहित अहिले तथ्याङ्क सङ्कलनको काम भइरहेको छ’ ।
६ वटा वडा रहेको यो गाउँपालिकाले पनि घोषणा गर्नको लागि ३० लाख हाराहारीमा बजेट विनियोजन गरेको उनको भनाई छ। पूर्वाधार निर्माणको क्षेत्रमा धेरै काम सकिएको तथ्याङ्कले देखाएको यस गाउँपालिकाका वडा अध्यक्षसहित सरोकारवालाहरूको विश्लेषण छ । बालबालिकालाई उनीहरूको हक, अधिकारको बारेमा थप सचेत र सक्रिय बन्न प्रेरित गर्नु पर्ने मुख्य सूचक जस्ता मानिन्छ ।
उमाकुण्ड गाउँपालिकाले पनि आगामी माघ मसान्त भित्रै बालमैत्री गाउँपालिका घोषणा गर्न चरणबद्ध काम सञ्चालन गरिरहेको जनाएको छ । माघ महिना भित्र बाल मैत्री गाउँपालिका घोषणाको लागि उमाकुण्ड गाउँपालिकाले सबै भन्दा धेरै रु २ करोड ६ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ङावा शेर्पाले जानकारी दिए । दुई पालिकाको तुलनामा भूगोल र वडा समेत ७ वटा रहेको यो पालिकाले बालमैत्री घोषणा गर्नको लागि ठुलै भोलम्मा बजेट सुनिश्चित गरेको बताएको छ ।
यस अगाडि मन्थली र रामेछाप नगरपालिका बालमैत्री नगर घोषित भइसकेका छन् ।
