हाइड्रोका विरुद्ध ‘मन्त्री र सांसदबाटै सहयोग नपाएपछि’ रित्तो हात फर्किए दुगर्ड हाइड्रो पीडितहरू, बाटैबाट संयोजक शेर्पा पक्राउ परेपछि अन्यौल
१५ साउन, रामेछाप । एम्भी दुगर्ड जल विद्युत आयोजनाको चरम लापरबाहीका कारण पीडित बनेपछि करिब एक महिना देखि निरन्तर आन्दोलनरत पीडितहरू सरकारबाटै सहयोग नपाएपछि रित्तो हात फर्किएका छन् । उनीहरूले मन्त्री, सांसदलाई मात्रै भेटेनन् पीडितहरूको आवाज बोल्ने प्रमुख स्थान माइतीघर मण्डलामा शान्ति पूर्ण आन्दोलन एवं खबरदारी गर्दा पनि कसैले नसुनेपछि रित्तो हात फर्किएका हुन् । आफूहरूको पीडा कसैले नसुनेको पीडित पक्षको गुनासो छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखु पिके गाउँपालिका भएर बहने लिखु खोलामा निर्माण गरिएको लिखु १,२ र ए जलविद्युत आयोजनाले निर्माण गर्नु अगाडि गरेका आफ्नै प्रतिबद्धता पूरा नगर्दा आन्दोलनमा उत्रिएका दुवै गाउँपालिकाका प्रभावित स्थानीयले न्याय माग्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय, विद्युत क्षेत्रको नियामक निकाय विद्युत विभागसहित सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने सम्ध पक्षहरूलाई ध्यानाकर्षण पत्रसहित आफ्ना माग बोकेर पुग्दा ती निकायले चासो नै नदिएपछि पीडितहरू निराश बनेर फर्किन बाध्य बनेको पाइएको छ ।
आफूहरूले सबै ठाउँ धाउँदा पनि सामान्य माग समेत पुरा गर्न असफल बन्नु परेको पीडित संघर्ष समितिका संयोजक उमाकुण्ड गाउँपालिका–१, निवासी गेल्बु शेर्पाले रामेछाप टाइम्ससंग भने । ‘कानुन सम्वत गर्नु पर्ने काम पनि आयोजनाले नगरेपछि हामी बाध्य भएर आन्दोलन गर्नु पर्यो तर मन्त्री, सांसद सबैलाई भेटे पनि केही पूरा हुन सकेन’, संयोजक शेर्पाको भनाई छ ।

माइतिघर मण्डलामा पीडित पक्षले गरेको शान्तिपूर्ण आन्दोलन ।
वर्षा याम सुरु भए यता आयोजनाको लापरबाहीको कारण ठाउँ–ठाउँमा पानीको कारण बस्तीहरू जोखिममा परेको, विगतमै स्थानान्तरण गर्नु पर्ने भनी तोकिएका बस्तीहरूलाई थप जोखिममा पार्ने काम भएको, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) मा उल्लेख गरिएका प्रतिबद्धता समेत कार्यान्वयन नगरी हिउँदमा एक थोपा पनि पानी नछोड्ने जस्ता कार्यहरू आयोजनाबाट हुन थालेपछि खबरदारीमा उत्रिएको सुनाउँदै संयोजक शेर्पाले भने ‘पहिले गर्छु भनेको काम पनि आयोजनाले नगरेपछि हामी खबरदारीमा निस्किएका हौँ ।’
आयोजना परिसरमा आन्दोलन चर्काउँदै जाँदा ड्यामको पानी खोला तर्फै फर्काएका उनीहरूले हाइड्रोले प्रशासनिक बल प्रयोग गरी गोली नै चलाउन थालेपछि काठमाडौँ दौडिएका थिए । राजधानीमा सरकारकै सहयोगमा निर्णायक वार्ता गरी आयोजनालाई घुँडा टेकाउने योजना स्वरूप काठमाडौँ पुगेका पीडित पक्षले ऊर्जा मन्त्री बिराज भक्त श्रेष्ठ, रामेछापका सांसद डा।कृष्णहरि बुढाथोकी र सोलु खुम्बुका सांसद प्रकाश सिंह कार्कीबाटै सोचे जस्तो साथ नपाउँदा रुष्ट बनेर फर्किएका पाइएको छ ।

सांसद डा.कृष्णहरि बुढाथोकीसंग जलविद्युत आयोजनले पारेको असरबारेमा छलफलपछि र शान्ति पूर्ण आन्दोलन बारेमा जिल्ला प्रशासन काठमाडौंको परिसरमा संघर्ष समितिको टिम ।
शेर्पाले भने ‘उहाँहरू हामीसँग भेट्दा राम्रै कुरा गर्नु हुन्छ तर हाइड्रोसँग दुवै पक्षलाई राखेर निर्णायक छलफल गराउन कसैले पहल गरिदिनु भएन, सक्नु भएन’ । हामी विकास विरोधी हैनौँ, उहाँहरूले गोजीबाट निकालेर दिने पनि हैन, हाम्रो छेउमा एउटा कुरा गर्नु हुन्छ तर पीडित र पीडकलाई एउटै टेबलमा राखेर कुरा गराउन सक्नु भएन ।’ पीडितहरूलाई थप पीडामा पर्ने गरी मन्त्री र सांसदहरूबाट काम भएको गुनासो गर्दै शेर्पाले प्रस्ट पार्दै भने ‘भोलि हामी सँग वार्ता छ भने अघिल्लो दिन हाइड्रोलाई मात्रै बोलाएर कुरा गर्दा रहेछन्।’
‘उहाँहरूबाट झारो टार्ने काम मात्रै भयो, हाइड्रो र पीडित पक्षबिच छलफल गराउन चासो नै दिनु भएन, मान्यले हामीसँग त पोजेटिभ कुरै गर्नु भयो तर हाइड्रोसँग त्यो भन्नु भएन
सांसद डा.कृष्णहरि बुढाथोकी र प्रकाश सिंह कार्कीले हाइड्रोपावरसँग आफूहरू बिचको प्रत्यक्ष छलफल गराउन नसकेको शेर्पाको आरोप छ । यो बिचमा एक जना हाइड्रोका सामान्य कर्मचारीसँग मात्रै छलफल भएको जानकारी गराउँदै सरकारले गम्भीरता नदेखाउँदा आफूहरू थप पीडित बन्नु परेको उनको भनाई छ ।
यस्ता छन् मुख्य माग
- शान्तिपूर्ण आन्दोलनसँग सम्बन्धित पक्राउ, जाहेरी, मुद्दा तथा प्रशासनिक कारबाहीको निष्पक्ष ।
- आन्दोलनका क्रममा भएका घटना, बल प्रयोग, पक्राउ, दुर्व्यवहार, जाहेरी तथा मुद्दाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनु पर्ने ।
- आगामी दिनमा स्थानीयका वैधानिक र शान्तिपूर्ण मागमाथि अनावश्यक बल प्रयोग नगर्ने स्पष्ट प्रशासनिक निर्देशन जारी गरिनु पर्ने ।
- आयोजना प्रभावित स्थानीय बासिन्दालाई अंकित मूल्य रु। १०० मा स्थानीय साधारण सेयर प्रदान गरिनु पर्ने ।
- सिएसआर र सिएसी तथा वातावरणीय व्यवस्थापनसम्बन्धी सम्पूर्ण रकम र कार्यक्रमको स्वतन्त्र लेखा परीक्षण गरिनु पर्ने ।
- लिखु-१, लिखु-२ र लिखु-ए आयोजनाको निर्माण अवधिदेखि हालसम्मको (सिएआर) बजेट तथा खर्च, सिएपी कार्यक्रम तथा खर्च, वातावरणीय प्रभाव न्यूनीकरण खर्च, वातावरणीय अनुगमन खर्च, वातावरणीय अभिवृद्धि कार्यक्रम, क्षतिपूर्ति, पुनर्स्थापना र पुनर्वास खर्च, तथा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतमा खर्च गरिएको खर्चको विवरण छुट्टाछुट्टै सार्वजनिक गरिनु पर्ने ।
- नुप्चे खोलाको अस्थायी ड्याम तथा जोखिमयुक्त संरचनाको स्थायी र सुरक्षित समाधान गर्नु पर्ने । (विद्युत विकास विभाग, स्थानीय सरकार, जिल्ला प्रशासन, विपद् व्यवस्थापन विज्ञ र स्वतन्त्र प्राविधिक सम्मिलित टोलीबाट १५ दिनभित्र संरचनाको निरीक्षण गर्नु पर्ने)
- लिखु-१ तथा लिखु-२ को सुरुङ चुहावटको स्वतन्त्र वैज्ञानिक अध्ययन गरी स्थायी समाधान, क्षतिपूर्ति र पुनर्वास सुनिश्चित गरिनु पर्ने ।
आइतबार देखि उमातिर्थ परिसरमा आन्दोलन
करिब १ महिना देखि आयोजना स्थल हुँदै सिंहदरबार सम्म पुगेको आन्दोलन व्यर्थ बनेपछि पीडित संघर्ष समितिको टोली शुक्रवार प्रभावित क्षेत्र फर्किएको छ । सरकारबाट बलियो अंट र साथ दुवै नपाएका पीडितहरू अन्ततः पुनः आयोजना स्थल मै फर्किएर चरणबद्ध आन्दोलन चर्काउने निर्णयमा पुगेका हुन् । शान्तिपूर्ण आन्दोलनका लागि उनीहरूले स्थानीहरूलाई समेत थप सहभागी गराउन उक्साइ रहेका मात्रै छैनन् वडा स्तरमा कार्यक्रम कै आयोजना गरेर टिमलाई बढाउने योजनामा रहेको उमाकुण्ड गाउँपालिका–२, बाम्तिभण्डारका युवा एवं संघर्ष समितिका ‘सदस्य’ साम्तेन शेर्पाले जानकारी दिए ।

यस अगाडि चर्किएको आन्दोलन स्थगित गर्न पीडित पक्ष र आयोजनाका कर्मचारी बिच भएको सहमति
सार्वजनिक भिडिओ तथा विभिन्न माध्यमबाट आयोजना स्थल केन्द्रित आन्दोलनमा सक्रिय सहभागी बढाउन अपिल गर्दै शुक्रवारै साँझ बाम्तिभण्डारमा विशेष छलफल आयोजना गरिएको जानकारी दिए । शान्तिपूर्ण र निर्णायक आन्दोलन गर्ने योजना बारेमा सुनाउँदै शनिवार वडा नं १, गुम्देलमा पनि आयोजनाका प्रभावितसँग छलफल एवं भेला गर्न लागेको उनको भनाई छ । यसरी भेला तथा छलफल गरी उमाकुण्ड र लिखु पिके गाउँपालिकाका प्रभावितहरू एक भएर थप आन्दोलन चर्किने संघर्ष समितिको भनाई छ ।
काठमाडौँमा कसैले नसुनेपछि आयोजना परिसर फर्किएरै आन्दोलन चर्काउने र आफूहरूको माग पूरा गराएर छाड्ने पीडितहरूको दाबी छ । कतिपयले भने एम्भी दुगर्ड सबै तिर पेलेरै अगाडि बढी रहेको स्मरण गर्दै काठमाडौँमा सरकार पक्षले देखाएको अनिछ्या नै काफी रहेको भन्दै अबको आन्दोलनको अर्थ नरहेको चर्चा गर्न थालेका छन् ।
बाटैबाट संयोजक शेर्पा पक्राउ
आयोजनास्थल परिसरमा आन्दोलन चर्काउने योजनासहित शुक्रवार गाउँ फर्किँदै गरेका संयोजक शेर्पालाई गोकुलगंगा गाउँपालिका–२, ठोसेबाट प्रहरीले पक्राउ गरेपछि पीडितहरू थप अन्योलमा परेका छन् । शुक्रवार दिउँसो चरिकोट दोलखा हुँदै ठोसे पुगेका शेर्पासहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि शुक्रवार साँझको लागि बाम्तिमा तय गरिएको कार्यक्रमसहित शनिवार पछिका कार्यक्रम अन्यौलता बनेको हो ।
यस अगाडि हाइड्रोपावरमा पानी ड्यामबाट निकाले खोला तर्फ फर्काएर अराजक काम गरिएको र कम्पनीलाई करडौं क्षति पुर्याएको भन्दै आयोजनाले दिएको उजुरीका आधारमा संयोजक शेर्पालाई पक्राउ गरिएको बुझिएको छ । उनलाई ठोसे प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मन्थली तर्फ पठाएको सदस्य साम्तेन शेर्पाले रामेछाप टाइम्ससंग बताए ।
