उमाकुण्ड गाउँपालिका–४ प्रिति वडा कार्यालयको पक्की भवन उद्घाटन

१ करोड ६५ लाखमा बनेको भवनको गाउँपालिका अध्यक्ष र उपाध्यक्षले संयुक्त रूपमा उद्घाटन गरे

| भदौ ३, २०८३ बुधबार

A A A
A A A

०३ भदौ, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ४, प्रितीको बुधवार उद्घाटन गरिएको छ । बुधवार विधिवत् रूपमा पूजा आज गरी गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र उपाध्यक्ष सावित्री सुनुवारले संयुक्त रूपमा भवनको उद्घाटन गरेसँगै सेवाको शुभारम्भ भएको हो । भव्य उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकराज कुलुङ्सहित पालिका र वडाका कर्मचारी, स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो । 


गाउँपालिकाको केन्द्र समेत यसै वडा भित्र पर्दछ । जिल्लाकै दुर्गम पालिकाको पहिचान ‘बोक्न बाध्य’ यो गाउँपालिकामा अब वडा नं ६, गुप्तेश्वर बाहेक सबै वडा कार्यालयमा पक्की भवन निर्माण सकिएको छ । वडा नं ६, मा भने भूकम्पपछि निर्माण गरिएको प्रिफ्याव भवनबाट सेवा प्रवाह हुँदै आएको छ । 
 

गाउँपालिकाको केन्द्रको कार्यालय परिसर सँगै वडा नं ४ मा एक करोड ६५ लाख लागतमा निर्माण गरिएको सुविधा सम्पन्न साँढे दुई तल्लाको पक्की भवनको बुधवार हिन्दु, बौद्ध र सुनुवार जातिका पुजारी एवं लामाहरूले शास्त्रीय विधि अनुसार पूजापाठ गरेपछि पालिका अध्यक्ष सुनुवारले रिबन काटेर भवनको उद्घाटन गरेका हुन् । आफ्नो दोस्रो कार्यकालको जिम्मेवारी निर्वाह गर्दै आएका वडा अध्यक्ष मानबहादुर सुनुवारका अनुसार तीन आर्थिक वर्षको बजेटबाट भवन निर्माण सम्पन्न गरिएको हो । 
 

गएको आर्थिक वर्ष २०८०/०८१ मा उमाकुण्ड–२, का प्रदीप बस्नेत, २०८१/०८२ मा मन्थलीका ठेकेदार र अन्तिम जिम्मेवारी उमाकुण्डकै तोरण सुनुवार ठेकेदार मार्फत काम गरी निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष सुनुवारले जानकारी दिए । वडा अध्यक्ष सुनुवारले भवन निर्माण सम्पन्न गर्न दुई आर्थिक वर्षमा विकास बजेटलाई समेत कटाएर काम सक्ने योजना अघि सारेका थिए । भवन निर्माण गर्न सुरुवातमा गाउँपालिकाले ४० लाख, दोस्रो पटक ६० लाख र तेस्रो पटक ६५ लाख गरी १ करोड ६५ लाख बजेट विनियोजन गरेको थियो । 

 

विगतमा तात्कालिक गाविसको भवनबाटै सेवा प्रवाह गर्दै आएको यो वडा कार्यालयमा भवन बनेसँगै वडावासीलाई प्रदान गरिने सेवा प्रवाहमा थप सुधार र सहज बन्ने अपेक्षा गरिएको छ ।