संघीय सरकारको कारण प्रदेशका मन्त्री र सांसदहरू ‘बुख्याचा’ जस्तो भयौँ - मन्त्री श्रेष्ठ (भिडिओ)

| मंसिर २०, २०८० बुधबार

A A A
A A A

२० मंसिर, रामेछाप । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले प्रदेशका मन्त्री र सांसद्हरुलाई संघीय सरकारले ‘बुख्याचा’ जस्तै बनाएको बताएका छन् । संविधानले प्रदत्त गरेको धेरै अधिकार प्रदेश सरकारलाई नदिएर संघीय सरकारले धान बारीमा तर्साउन बनाइएको ‘बुख्याचा’ जस्तो बनाएको दोहोर्‍याएका हुन् । 

 

बुधवार (आज) रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारसँग साक्षात्कार गर्दै मन्त्री श्रेष्ठले भने ‘हामीलाई कस्तो खालको अवस्था सिर्जना गराइयो भने दौड प्रतिस्पर्धामा भाग लिन चारै हात खुट्टा बाँधेर मैदानमा पठाइएको छ’, उनले थपे ‘जनताले पनि सबै कुरा जान्दैनन्, अधिकार पाएकी पाएनन्, कानुन बनेकी बनेनन्, जनशक्ति छकी छैन । जनतालाई त, परिणाम चाहिन्छ । तर, संघीय सरकारले ती अधिकार नदिए सम्म हामीले चाहेर मात्रै हुँदो रहेनछ ।’

 

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले प्रदेशले आफ्नो अधिकार र स्रोत साधनले भ्याएसम्म काम गरेको जिकिर गरे । उनले भने ‘हामीले चाहेर गर्न सकिने जति हामीले गरेका छौँ । हामी तीव्रतम् ढङ्गाले अगाडि बढी रहेका छौँ ।’

 

जिल्लाको एक कार्यक्रममा भाग लिन जिल्ला आएका प्रदेश आर्थिक मामिला मन्त्री श्रेष्ठले पत्रकारहरूले राखेको जिज्ञासामा  १ हजार भन्दा बढी सडक प्रदेश सरकारको बजेटबाट बनेको, सयौँ सडकहरू बन्दे गरेको, कालो पत्रे भएको जिकिर गरे । ‘यी हामीले गरेका कामहरू जनतासँग सबै प्रस्ट पार्न नसक्दा प्रदेशमा नेतृत्व गरी रहेका मन्त्री र सांसदहरू धानबारीमा चरा धपाउन राखेको ‘बुख्याचा’ जस्तो बनेको छौँ।’

 

संविधानले प्रदत्त गरेका अधिकारीहरू संघ मुठ्याएर बन्ने अनि उहाँहरूको कारणले प्रदेश बदनाम हुनु पर्ने भन्दै उनले प्रश्न गरे । 

 

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँले गर्दै आएको विद्रोहको आन्दोलन सामान्य रहेको तर्क गरे । ‘दुर्गाजीको विषयमा बोली रहनु पर्छ जस्तो मलाई लाग्दैन । उहाँलाई तपाई मिडियाहरूले पनि त्यति ठाउँ दिई रहनु पर्दैन । नदिनुस् ।’ 

 

जिल्ला समन्वय समितिको सभा हलमा भएको पत्रकार साक्षत्कारमा जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की) र उपप्रमुख प्रेम सागार थापा पनि सहभागी थिए ।