मन्थली माविमा १२ औँ अदीति कप : एकै विद्यालयका ७ सय बढी विद्यार्थीले १९८ पदकको लागि खेल्दै

| मंसिर २१, २०८० बिहिबार

A A A
A A A

२१ मंसिर, रामेछाप । जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली माविमा ‘१२ औँ अदीति घिमिरे कप खेलकुद’ प्रतियोगिता सुरु भएको छ । मन्थली माविका संस्थापक हृद्य राज शर्मा (घिमिरे) की छोरी अदीतिको नामबाट सञ्चालन हुँदै आएको सो खेलकुद प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । 

 

दुई हजार एक सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको ‘नमुनाको लागि अग्रसर’ मन्थली माविको यो खेल प्रतियोगितामा झण्डै ७ सय जना विद्यार्थी/खेलाडीले विभिन्न १८ वटा भन्दा बढी खेलकुदमा आन्तरिक प्रतिस्पर्धा गर्दै छन् । यसरी विद्यार्थीहरूलाई सिनियर र जुनियरमा वर्गीकरण गरेर उनीहरूको क्षमतालाई पहिचान गर्न र सर्वाङ्गीण विकासमा सहयोग पुग्ने उद्देश्यले विद्यालयले प्रतियोगितालाई महत्त्व दिँदै आएको माविका शिक्षक चन्द्रसिंह धामी रामेछाप टाइम्ससंग बताउँछन् । 

‘यो खेलले विद्यार्थी-विद्यार्थीबिच र शिक्षकहरूसँग थप सम्बन्ध सुमधुर बनाउन मद्दत पुगेको छ, विद्यार्थीहरूले आफूभित्र लुकेर रहेको प्रतिभा पनि बाहिर ल्याउन सक्छन्’, शिक्षक धामीले थपे ‘वार्षिक क्यालेण्डरमै समावेश गरेर गर्ने यो प्रतियोगिता विद्यार्थीहरूको चाहन र रुचि भित्र पर्छ । धेरै अभिभावकले पनि बुझ्नु भएको छ । केहीलाई बुझाउन सकेनौँ होला हामीले पनि तर, यसको महत्त्व धेरै छ ।’

 

शिक्षक धामीले अदीति कपले विद्यार्थी र शिक्षक दुवैलाई माइन्ड फ्रेस बनाउन मद्दत पुगेको उल्लेख गर्दै विद्यालयलाई यो मौका प्रदान गर्नु पुण्यको काम भएको तर्क गरे । 

बिहीबार विद्यालयका प्रधानाध्यापक (प्रअ) टङ्कप्रसाद दाहालको अध्यक्षता र मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) को प्रमुख आतिथ्यतामा उद्घाटन भएको खेलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाइने सबै खेलमा प्रतिस्पर्धा हुने छ । 

 

जस अनुसार सिनियर तर्फ १००, २००, ४००, ८००, १५०० र ३००० हजार मिटर दौड, १०*४ र ४००*४ रिले, हाइ जम्, लङ जम्, ट्रिपल लम्, सट्पट,, ज्याभ्लिङ थ्रो, भलिबल, कबड्डी, कराते, तेक्वादन्दो र उसु विधामा छात्रा छात्रले प्रतिस्पर्धा गर्दै छन् । 

त्यस्तै जुनियर तर्फ पनि १००, २००, ४०० मिटर दौड, लङ जम्, हाइ जम्, कबड्डी र भलिबलमा छात्र छात्राले खेल्दै छन् । भने, युकेजी (३ कक्षा सम्म) ६ वटा इभेटन्टहरु मियूजिकल चियर, म्याथ सोलुसन, वाटर फ्रम रेस, बोलुन बाल्स, सिड् सेप्रेसन,  १०० मिटर दौड, १०० मिटर रिले लगायतमा रमाउने छन् । 

 

विगतका वर्ष देखिनै अदीति घिमिरे कपको बलमा मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड निरन्तर मन्थली माविले उचाल्दै आएको छ । ‘यो कपलाई हामीले राष्ट्रपति रनिङ शिल्डको पूर्व तयारीको अवस्थाको रूपमा पनि लिएका छौँ, माविका प्रअ दाहालले भने ‘यो खेलको प्रफर्मेन्स हेरेर हामीले खेलाडी छनोट गर्ने छौँ ।’

झण्डै ६ देखि ७ लाख खर्च लाग्दै आएको अदीति कपको सबै खर्च संस्थापकको परिवारले पेस भएको बिलको आधारमा विद्यालयलाई भुक्तानी गर्दै आएको छ । ‘विद्यालयलाई बिल मात्रै हैन । उहाँहरूले अरू सहयोग पनि ४–५ लाख निरन्तर गर्नू भएको छ । धरै विद्यार्थीलाई छात्र वृत्ति पनि दिँदै आउनु भएको छ । खेलकुदमा राम्रो गर्ने खेलाडीलाई अझ धेरै सहयोग छ’, शिक्षक धामी । 

‘यो खेलमा सहभागी हुने सबै खेलाडीहरूलाई जर्सी, जुत्ता खेलकुदका सामाग्री सबै उहाँहरूबाटै सहयोग हुन्छ’ प्रअ दाहाल । 

६६ स्वर्ण पदक सहित १९८ पदकको लागि छात्र छात्राले उत्साह जनक रूपमा प्रतिस्पर्धा गर्दै छन् ।